पूर्व गृहराज्यमन्त्रीको निधन

147
  •  
  •  
  •  

महोत्तरी, १८ चैत्र (ओएनएस)  : नेपाली काँग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री महेन्द्र राय यादवको निधन भएको छ । महोत्तरीको खुट्टापिपराढी गाविस–१ निवासी ६३ बर्षीय यादवको मंगलबारराति भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो । यादवको पार्थिव सरिरमा बुधबार महोत्तरीस्थित नेपाली काँगे्रसको पार्टी कार्यालयमा श्रद्धाञ्जली दिइएको छ ।

उनको शवलाई पार्टी कार्यालयमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामचन्द्र तिवारी, सभासद सिताराम भण्डारी, जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरुले माला चढाई श्रद्धाञ्जली दिएका हुन ।

एक छोरी र दुई छोराका बाबु पूर्वगृहराज्य मन्त्री यादवको दाहसंस्कार पैतृक गाउँ खुट्टापिपराढीमै गरिने स्थानीय नेता बजरंग नेपाली बताए । विभिन्न राजनीतिक आन्दोलनका क्रममा चार पटक जेल जीवन विताएका यादवलाई माओवादीले समेत २०६० सालमा एकमहिनासम्म अपहरणगरि राखेका थिए ।

नेपाली काँग्रसका दिवंगत नेता महेश्वर प्रसाद सिंहसँगको सामिप्यतामा नेता यादव २०३८ सालदेखि नै जिल्ला कार्यसमिति सदस्य, सचिव हुँदै महासमिति सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए । प्रजातन्त्र पूनस्र्थापनापछि २०४८ देखि २०५६ सम्मको तीन वटा निर्वाचनमा यादव प्रतिनिधिसभा सदस्य भएका थिए भने २०५३ सालमा गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।


  •  
  •  
  •