पहिरोमा दिवंगत भएकाको आत्माको शान्तिका लागि महायज्ञ

108
  •  
  •  
  •  

काठमाडौँ, २७ भदौ : सिन्धुपाल्चोकको जुरेलगायत देशका विभिन्न ठाउँमा पहिरोमा परी मृत्यु भएकाको आत्माको शान्तिको कामना गर्दै काठमाडौँ तीनकुने चौरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

बिहीबारबाट सुरु महायज्ञमा भागवत् सप्ताहसँगै प्राकृतिक विपत्तिमा परेर मृत्यु तथा बेपत्ता भएका व्यक्तिको आत्माको शान्तिको कामना गर्दै होमसमेत लगाइने छ । महायज्ञ असोज १ गतेसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजक संस्था श्रमिक सहाराका अध्यक्ष श्याम महतले जानकारी दिए । पण्डित दीनबन्धु पोखरलले वाचन गरेको महायज्ञमा प्राप्त आर्थिक तथा अन्य सहयोग सिन्धुपाल्चोक जुरे बाढीपीडितको सहयोगका लागि उपलब्ध गराइने छ ।

महायज्ञस्थलमा उठेको रकमबाटै सिन्धुपाल्चोकको जुरेमा नागको प्रतिमासमेत स्थापना गरिने जानकारी महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष सन्तोष गौतमले दिए । गत साउन १७ गते राति सिन्धुपाल्चोकको भोटेकोसी नदी किनारमा पर्ने जुरेमा पहिरो जाँदा १५६ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •