फेरि सीमा नाका अवरुद्ध

150
  •  
  •  
  •  

काठमाडौं १२ पुस ।
सीमावर्ती जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच शनिबार झडप भएको छ । सीमा नाकामा अवरोध गर्न बसेका मधेसी मोर्चाका नेता, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई धर्नाबाट प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट महतोको टाउकोको अगाडिको भाग चोट लागेको छ । उनको दुबै खुट्टामा समेत चोट लागेको छ । प्रहरीले भने झडपपछि सीमापारि पुगेका मोर्चाकै कार्यकर्ताको ढुंगा लागेर महतो घाइते भएको दाबी गरेको छ । झडपपछि जोगबनी पुगेका महतोलाई त्यहाँ प्राथमिक उपचारपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याइएको थियो । उनको सिटी स्क्यानलगायत जाँचपछि उपचार भइरहेको छ । महतोलाई सघन उपचार कक्ष ९आइसीयु० मा राखिएको छ ।

महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सुरुमा भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो । तर भारतीय क्षेत्रबाट प्रवेश गरेका महतोसहितका नेता कार्यकर्ता दशगजामा धर्ना बसेको मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । नाकामा अवरोध नगर्न आग्रह गर्दा अटेर गरेपछि झडप भएको उनले बताए ।

झडप र प्रहरीको लाठी प्रहारले सद्भावनाका केन्द्रिय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहता, आदिवासी जनजाति मञ्चका केन्द्रिय महासचिव तेन्जिङ लामा, मोर्चा कार्यकर्ताहरु युवराज साह, जागेश्वर साहनी, मो। अब्दुल हुसेन, मोहन चौधरी, महमद आलम, ईन्द्रजीत साह, परमानन्द यादवलगायत पनि घाइते भएका छन् । प्रहरीले मोर्चाका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । साँझ गोल्डेन अस्पताल परिसरमा पनि प्रहरीले केही कार्यकर्तालाई कुटपिट गरेको मोर्चाले जनाएको छ । मोर्चा कार्यकर्ताले अस्पतालनजिक एउटा ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

प्रहरी र भन्सार कार्यालयको गेटनजिकको कार्यालयमा मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेको उनले बताए । त्यसपछि प्रहरीले लाठी प्रहार र अश्रुग्यास प्रयोग गरेको थियो । झडपको घटनापछि महतोसहितका नेता कार्यकर्ता नाका छिचोल्दै भारतीय भूमितिर गएको लम्सालले बताए । नाकाको भारततिर पर्ने दशगजनमा पुगेका धर्नाकारीलाई भारतीय सुरक्षाकर्मीले हटाएको थियो । घाइते केही कार्यकर्ताको जोगबनीस्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो ।

मोर्चा कार्यकर्ताले भारतीय क्षेत्रबाट नेपाली प्रहरी टोलीलाई ढुंगा प्रहार गरेका थिए । झडपमा आफ्ना दर्जनभन्दा बढी नेता–कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ । सद्भावना पार्टीका केन्द्रिय प्रवक्ता सन्तोष मेहताका अनुसार प्रहरीले धर्नामा बसेका बेला हस्तक्षेप गरेको थियो । प्रहरीले धर्नाबाट हट्नेबारे केही जानकारी नदिइ एक्कासी लाठी प्रहार गरेको उनले दाबी गरे । झडपका कारण नाका क्षेत्रमा तनाव भएको थियो । त्यहाँबाट सर्वसाधारणको आउजाउ समेत प्रभावित भएको छ ।

आयात–निर्यात ठप्प
भारतको अघोषित नाकाबन्दीपछि दुई महिनायता सहज रुपमा आयात निर्यात सुचारु रहेको जोगबनी नाका शनिबार अपराह्नबाट अवरुद्ध भएको छ । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडपको घटनापछि नाका ठप्प भएको हो । वीरगन्ज, रुपैडियालगायत नाकामा अवरोध प्रभावकारी भएको तर विराटनगरमा सहज भएको भन्दै महतो र उनीनिकट नेता कार्यकर्ताले जोगबनीमा अवरोध कडा पार्नुपर्ने बताउँदै आएका थिए ।

झडपअघि यो नाकाबाट शनिबार मध्याहनसम्ममा १ सय २५ मालबाहक ट्रक आएका थिए । इन्धनका भने एउटा पनि ट्यांकर आएनन् । विराटनगर भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार मोर्चाका कार्यकर्ताले जोगबनी भन्सार परिसरमा इन्धनका ट्यांकर नपठाउन बिहानैदेखि दबाव दिएपछि इन्धन नआएको हो । अघोषित नाकाबन्दीको सुरुवाती दुईसाता पछि यो नाकाबाट दैनिक सरदर ४० ट्यांकर इन्धन भित्रिदै आएको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •