लगानीको वातावरण बनेको छ ,त्यसलाई नविगारौ :अर्थमन्त्री

167
  •  
  •  
  •  

काठमाडौं २९,असोज(ओएनएस): अर्थमन्त्री डा रामशरण महतले नेपालमा लगानीके वातावरण बनेकोले त्यसलाई नविगार्न सरोकारवाला तथा राजनितिक दलसँग आग्रह गरेका छन् । उनले आर्थिक एजेण्डालाई राजनीतिक पूर्वाग्रही दृष्टिकोणको शिकार बनाउन नहुने बताएका छन्  ।

आर्थिक गतिबिधि बिस्तारका लागि अत्यन्तै अनुकूल वातावरण बनेको र मुलुकले निकट भविष्यमै ठूलो फड्को मार्ने स्थिति आएको जानकारी दिए ।

नेपालका अर्थशास्त्रीहरुको केन्द्रीय संस्था नेपाल आर्थिक संघका नवनिर्बाचित पदाधिकारीहरुसँग अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा नेपालमा विशेषगरी जलबिद्युत र पूर्वाधारको विकासका लागि अहिले सबैभन्दा उत्तम समय भएको महतले बताए ।
अन्तर्राष्ट्रिय समुदायले यस क्षेत्रको विकासको लागि पर्याप्त चासो देखाएको उनले जानकारी दिए ।
विश्व बैंक र आईएफसी जस्ता संस्थाले करिब ६ खर्ब रुपैयाँसम्म लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन उनले भने ।
त्यस्तै अन्य दातृ संस्थाहरुले पनि यस क्षेत्रमा लगानी गर्न आकर्षित हुन थालेका छन ।

नेपालको जलबिद्युतको क्षेत्रमा लगानी गर्नेबारे अन्य देशका प्रतिनिधिहरुले पनि चासो राखेका छन । अर्थमन्त्री डा महतले नेपालको जलबिद्युतका क्षेत्रमा तत्काल ३ हजार मेगावाट क्षमता सम्मका आयोजनाहरुमा लगानी आउने जानकारी दिए ।

अन्य पूर्वाधारका क्षेत्रमा पनि लगानी ल्याउन कसरत गरिरहेको उनले बताए ।
यस्तो अवसरलाई नगुमाउन सरोकारवालाहरुलाई आग्रह गरे ।  उनले भने ‘ अर्थतन्त्रलाई टेकअफ हुन दिऔ, त्यसपछि स्वतः अगाडि बढ्छ ।’

सो अवसरमा आर्थिक संघका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुरेलले आर्थिक सुधार कार्यक्रमहरुलाई अगाडि बढाएर नेपालले ठूलो मात्रामा लगानी आकर्षित गर्न सक्ने धारणा राखे । साथै यस्ता कार्यक्रमहरुमा दक्ष अर्थविदहरुका बिचारहरुलाई पनि समेटिनुपर्नेमा जोड दिए ।

आफूहरु अर्थमन्त्रालयले अगाडि सारेका आर्थिक एजेण्डाहरुलाई प्रभावकारीरुपमा अगाडि बढाउन बिज्ञका हिसाबले तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले दुई दशकअघि शुरु गरिएको उदारिकरणका कारण आर्थिक क्षेत्रमा ठूलो प्रगति भएको तर बीचमा नीतिगत अलमलले फेरि पछाडि धकेलिनुपरेको चर्चा बताए । साथै अव आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएर कार्यान्वयनमा जानुपर्ने सुझाव दिए ।

सो भेटघाटमा संघका पूर्वअध्यक्ष प्रा डा मदनकुमार दाहाल,संघका पदाधिकारीहरुका साथै अर्थसचिव सुमनप्रसाद शर्मा, सहसचिव बैकुण्ठ अर्याल र मधुकुमार मरासिनी तथा मन्त्रालयका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


  •  
  •  
  •