निर्यात नबढाई प्रगति हुँदैन :अर्थमन्त्री डा महत

185
  •  
  •  
  •  

काठमाडौं ,१३ मंसिर (ओएनएस) : अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि बिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने बताएका छन् ।

नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित २५ औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले निर्यातको युग हो, जापानलाई उछिनेर चीन अगाडि आउने कारण उसको निर्यात हो  ।’ नेपालले पनि निर्यात बृद्धिका लागि भारतसँग बिद्युत व्यापार सम्झौता गरी बिद्युत उत्पादनलाई जोड दिएको उनको भनाई थियो ।
महतले नेपालले जलबिद्युतको निर्यात गरी आम्दानी बढाउन सक्ने बताए ।

सयौं बर्षदेखि बिद्युत उत्पादन भैरहेपनि नेपालले संभावनाको १ प्रतिशत बिद्युत उत्पादन गरिरहेको बताए । साथै जलबिद्युतको विकासका लागि सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्न थालिसकेको उनले जानकारी दिए  ।

भारतसँग बिद्युत व्यापार सम्झौतापछि बिद्युत उत्पादन र निर्यातको संभावना बढेको उनले बताए ।
सरकारले जलविद्युत र पर्यटनबाट विदेशी मुद्रा कमाउने र कृषि उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन र पछि निर्यात बृद्धि समेत गरिने उल्लेख गरे ।

‘निर्यात बढाएपछि मात्र नेपालको अन्य मुलुकसँगको करिब ६ खर्बको व्यापारघाटा पनि घटाउन सकिन्छ ’ उनले भने ।

लगानी बढाउन शान्ति सुरक्षा र लगानीको सुरक्षाका लागि सरकार कडा भएर आउने जानकारी दिए ।


  •  
  •  
  •