पक्राउ पर्लान् त महरा ?

आरोप प्रमाणित भए महरा अब ३ देखि ५ वर्षसम्म कैद बस्नुपर्नेछ । नैतिक पत्तन हुने फौजदारी अपराध भएकाले त्यसपछि उनको राजनीतिक जीवन पनि वैधानिक रुपमै समाप्त हुनेछ ।
115
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौँ, १८ असोज (ओएनएस)। आफ्नै कार्यालयकी कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि सभामुख पदबाटै राजीनामा दिएका कृष्णबहादुर महरालाई अन्ततः पक्राउ गर्ने बाटो खुलेको छ । उनीमाथि यौन अपराधको आरोप लगाउने महिलाले घटनाको ६ दिनपछि गएराति प्रहरीमा लिखित जाहेरी दर्ता गराएकी छन् । ती महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएकी हुन् ।

लिखित जाहेरी नपरेका कारण अनुसन्धान अघि बढाउन नसकिरहेको अवस्थामा अब कानुनी प्रक्रिया अघि बढाउन बाटो खुलेको महानगरी प्रहरी परिसर, काठमाडौँका प्रमुख उत्तम सुवेदीले जानकारी दिए । उनका अनुसार, पीडित भनिएकी महिलाले आफूमाथि जबरजस्तीकरणीको प्रयास गरेको आरोप लगाएकी छन् ।

स्रोतअनुसार, अदालतको अनुमति लिएर महरालाई पक्राउन गर्ने तयारी प्रहरीले गरेको छ । महराले सांसद पदबाट राजीनामा नदिएकाले प्रहरी अदालत र उपसभामुखको अनुमति लिन लागेको हो ।

नेकपा सचिवालयको बैठकले महरालाई सभामुख र सांसद दुवै पद छाड्नुपर्ने निर्णय गरे पनि उनले अटेर गरिरहेका छन् ।
प्रहरीले पक्रेपछि यौन अपराधको आरोप बोकेर समेत उनी माननीयकै रुपमा थुनामा बस्नेछन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले गएको आइतबार साँझ सुविधानगरस्थित आफ्नै डेरामा आएर बलात्कार गरेको आरोप सार्वजनिक सञ्चार माध्यमबाट लगाएकी थिइन् ।

पीडित महिलाले प्रहरीलाई भने घटनास्थलबाट तत्कालै जानकारी गराएकी थिइन् । तर सभामुख पदमा भएकाले तत्काल उनलाई पक्राउ गर्न प्रहरी हच्किएको थियो । भिडियोसहितको घटनास्थल विवरण र केही प्रमाण भने प्रहरीले संकलन गरेको छ ।

आरोप प्रमाणित भए महरा अब ३ देखि ५ वर्षसम्म कैद बस्नुपर्नेछ । नैतिक पत्तन हुने फौजदारी अपराध भएकाले त्यसपछि उनको राजनीतिक जीवन पनि वैधानिक रुपमै समाप्त हुनेछ ।

सम्बन्धित समाचार


  •  
  •  
  •