अन्ततः सरकारी निवासबाटै महरा पक्राउ, थुनामै बित्ने भो दसैँ

105
  •  
  •  
  •  

काठमाडौँ, १९ असोज (ओएनएस) . आफ्नै कार्यालयकी एक विवाहिता महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपपछि सभामुख पदबाटै विदा हुनुपरेका कृष्णबहादुर महरा आज पक्राउ परेका छन् ।

महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट आज प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई महानगरीय प्रहरी, सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनको बयान लगायत अन्य प्रक्रिया भने दसैँपछि कार्यालयहरु खुलेपछि मात्र अघि बढ्नेछ ।

गएको आइतबार साँझ रक्सी लिएर भेट्न पुगेका महराले आफूमाथि बलात्कार र कुटपिट गरेको भन्दै ती महिलाले तत्कालै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले त्यही दिन भिडियो र अन्य विवरण संकलन गरेको थियो । त्यसको भोलिपल्ट ती महिलाले सञ्चार माध्यमबाट आफूमाथि अत्याचार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन् । तर प्रहरीले लिखित जाहेरी नदिएको भन्दै अनुसन्धानमा अघि सरेको थिएन । घटनाको ६ दिनपछि गएको शुक्रबार राति मात्र ती महिलाले जाहेरी दिएकी हुन् ।

आज दिउँसो महरालाई पक्राउ गर्ने अनुमति माग गर्न प्रहरीको एक टोली काठमाडौँ जिल्ला अदालत गएको थियो ।

अदालतले पनि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेको समेत सहमति लिएर महरालाई बालुवाटार निवासबाटै पक्राउ गरेको हो ।


  •  
  •  
  •