महराले सफाइ पाएको विषय संसदमा जानकारी गराइयो

76
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएको विषयमा जानकारी गराइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सदस्य महराले जबरजस्ती करणी उद्योगको मुद्दाबाट सफाइ पाई थुनामुक्त भएको व्यहोरा जानकारी गराएका हुन् ।

योसँगै महराले सांसदको रुपमा संसदका बैठकमा सहभागी हुने तथा कार्य गर्ने बाटो खुलेको छ । बैठकमा महरा थुनामुक्त भएको जानकारी गराउँदै सभामुख सापकोटाले भने, ‘महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको मिति २०७६र०६र१९ गतेको पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको शिलशिलामा काठमाडौं जिल्ला अदालतको अनुमतिबाट कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहनुभएका प्रतिनिधिसभाका माननीय सदस्य श्री कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतको मिति २०७६/११/०५ गतेको फैसलाले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी २०७६/११/०५ गते थुनामुक्त हुनुभएको व्यहोरा जानकारी गराउँछु ।’

महरा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका महराले सोमबार अभियोगबाट सफाइ पाएका हुन् ।


  •  
  •  
  •