बलात्कार उद्योग मुद्दामा निवर्तमान सभामुख महरालाई सफाइ

88
  •  
  •  
  •  

काठमाडौं । बलात्कार उद्योग मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् ।
जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

फाइल तस्बिर

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।
यसअघि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको सुनुवाइ सकिएको थियो ।

महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो ।

आइतबार अदालतमा महराको तर्फबाट आठ वकिलले बहस गरेका थिए । अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैलानी, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका थिए ।

माघ २६ गते अन्तिम सुनुवाई भएको मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सुनुवाइ भएको थियो ।

गत असोज १२ गतेर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन् । असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परेका थिए । तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो ।

जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि उसले जिल्लाकै आदेश सदर गरेको थियो ।

कुनै प्रतिक्रिया दिएनन्

सफाइ पाएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा महराले मिडियासँग कुनै प्रतिक्रिया दिएनन् । उनी सोझै डिल्लीबजार कारागार गएका छन् । निर्दोष ठहरिएसँगै महरा कारागारबाट १३४ दिनपछि घर फर्किनेछन्।


  •  
  •  
  •