महरालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

90
  •  
  •  
  •  

काठमाडौं । बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

न्यायाधीश दिपककुमार दाहालको इजलासले यसअघिको १० दिन र अहिले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जसअनुसार निर्वमान सभामुख महरा शुक्रबारसम्म हिरासतमा रहनेछन् ।
यो अवधिमा प्रहरीले उनीसँग बयान लिनेछ । त्यस अवधिमा पनि अनुसन्धान नसकिए महरालाई पुनः अदालतमै उपस्थित गराएर म्याद थप गरिनेछ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहारको आरोपमा गएको १९ गते सरकारी निवासबाटै महरालाई प्रहरीले पक्राउ गरेको थियो । दशैँका बेला पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको थियो ।

आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा पीडित महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ ।


  •  
  •  
  •