प्रधानमन्त्री ओली बाहिर ‘उदार’ भित्र ‘नकारात्मक’ : महन्थ ठाकुर

138
  •  
  •  
  •  

काठमाडौं ८ माघ ।
तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका अग्रज नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या समाधानका लागि बाहिर उदार धारणा राखेपनि भित्र सधैं असहयोगी र नकारात्मक रहेको बताएका छन् ।

स्वास्थ्योपचारका क्रममा आइतबारदेखि मेदान्त अस्पतालमा भर्ना भएका नेता ठाकुरले काठमाडौंमा तीन राजनीतिक दल र मधेसीमोर्चाका शीर्षस्थ नेताबीच बिहिबार जारी वार्ता फेरि असफल भएपछि प्रतिक्रिया दिंदैं भने, ‘विषय र मुद्दामा सहमति आइसकेकै अवस्थामा पनि प्रधानमन्त्री ओलीको असहयोगी र नकारात्मक कार्यशैलीले काम बिगारेको छ ।’

मधेसी समस्या समाधानमा कार्यदल र अरु शीर्षस्थ नेता समझदारीमा आइसकेपनि हरेकपटक प्रधानमन्त्री ओलीको नचाहिँदो अडानले सहमति बिगार्ने गरेको ठाकुरको भनाइ छ । ‘सीमांकनको विषयमा राजनीतिक समिति बनाउने र यसका लागि ‘टर्म अफ रिफरेन्स’ बनाउने कुरा सहमति भैसकेको हो,’ ठाकुरले भने, ‘यसलाई संसदबाट अनुमोदन गराउने अथवा संविधानको राजनीतिक समितिको अनुसुचीमा राखिने कुरा भएको हो । तर एकाएक अहिले सहमतिभन्दा बढी विरोधको माहोल बनाएर प्रधानमन्त्री ओलीले मधेसी आन्दोलनलाई जारी राख्न सन्देश दिएका छन् ।’

काठमाडौंको वार्ता अवरुद्ध भएकोबारे आफूले मधेसी मोर्चाका नेताहरुबाट ‘ब्रिफिङ’ पाइसकेको भन्दै ठाकुरले संवाद र सहमतिको बाटो अझै बाँकी रहेको बताए । राजनीतिक दलहरुले सहमति जनाइसकेको र संविधानको संशोधनमा पेश भएको ‘समानुपातिक समावेशी सहभागिता’ बारेमा प्रधानमन्त्री ओलीले फेरि असहमतिको स्वर निकाल्नु आफैंमा अनौठो कुरा रहेको ठाकुरले बताए ।

अस्पतालको कार्डियोलोजी विभाग अन्तर्गत भर्ना गरिएका नेता ठाकुरको देब्रे घुँडामा समस्या देखिएपनि तत्काल अपरेसन गर्नु जरुरी नरहेको अस्पतालले जनाएको छ । ‘मलाई केही दिन अस्पताल आएर फिजियोथेरापीको अभ्यास सिक्न भनिएको छ,’ ठाकुरले भने ।

तीन महिनापछि फेरि फलो–अप उपचारमा अस्पताल आउन भनिएको उनले बताए । बिहिबार अस्पतालबाट डिस्चार्ज पाएपछि नेता ठाकुर केही दिन दिल्लीमा बस्नेछन् ।

नेता ठाकुरको स्वास्थ्य स्थितीबारे जानकारी लिन बुधबार राजदूत दीपकुमार उपाध्याय मेदान्त अस्पताल पुगेका थिए । आफू घुँडाको सर्जरी गर्ने भनेर मेदान्त आएकाले दिल्लीमा अरु तहको राजनीतिक भेटघाटको कुनै समयतालिका निर्धारण नभएको ठाकुरले बताए । ठाकुरका साथमा तमलोपा नेताहरु उमाकान्त झा र केदारनन्दन चौधरी दिल्लीमा छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •