विशेष महाधिवेशन नगरे समानान्तर कमिटी गठन गर्ने चेतावनी

615
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर(ओएनएस) । गैर सरकारी संस्था महासंघ नेपालको लोकतान्त्रिक पक्षधरले हालै सम्पन्न भएको महासंघको नवौं महाधिवेशन राजनीतिक आस्था र कानूनविपरित भएको आरोप लगाउँदै तत्काल विशेष महाधिवेशनको माग गरेको छ ।

सोमबार काठमाडौंमा आयोजिक पत्रकार सम्मेलनमा महासंघका लोकतान्त्रिक पक्षधरले तत्काल विशेष महाधिवेशन नगरे ७७ वटै जिल्लामा समानान्तर कमिटी गठन गरेर अघि बढ्ने पनि चेतावनी दिएको हो ।

महासंघका निवर्तमान महासचिव मिलनकुमार श्रेष्ठले महासंघको नवौं महाधिवेशन विधि र विधानविपरित दुई तिहाई सरकारको दम्भका आधारमा गरेको भन्दै आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।

श्रेष्ठले महासंघको मंसिर १४ र १५ गते राजधानिमा सम्पन्न २४ औं साधारण सभा, ९ औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनमाथि राजनीतिकरण भएको आरोप लगाए ।

महासंघका पूर्व पदाधिकारी तथा सामाजिक अभियन्ता करुणा सागर सुवेदीले राजनीतिक आस्थालाई लिएर महासंघमा विवाद सिर्जना गर्न नहुनेमा जोड दिए ।

सुवेदीले वर्तमान सरकार नागरिक संगठनहरुमाथि दिनप्रतिदिन नियन्त्रणकारी बन्दै गएको आरोप लगाए ।
मुलुकको विकास र समृद्धिको लागि सबै मिलेर अघि बढ्नुपर्ने बेलामा यसरी एकलौटी ढंगबाट महाधिवेशन सम्पन्न गुर्न अप्रजातान्त्रिक र खेदपूर्ण रहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा निवर्तमान केन्द्रीय सदस्यहरु परमानन्द कंडेल, भीम प्रसाद शर्मा, लक्ष्मण खड्का, नेत्रकला शाही, प्रिज्मासिंह थारु, भरतनारायण प्रधान, सिद्धराज पाठक, बालकृष्ण ओझा, सरिता आङदेम्वेलगायतले हालै सम्पन्न महासंघको महाधिवेश विधिसम्वत नभएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् ।


  •  
  •  
  •