सडकमा माग्ने भेटिए कारबाही

213
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २८ गतेपछि सडकमा माग्ने भेटिए कारबाही गर्ने भएको छ । मंगलबार एक सूचना निकाल्दै महानगरले तीन दिनभित्र सबै प्रकारका माग्नेलाई सडकममा नबस्न आग्रह गरेको छ ।

मंसिर २९ मा २५ औं महानगर दिवस मनाउन लागेको महानगरपालिकाले सो अवसरमा विशेष माग्नेरहित काठमाडौं पनि घोषणा गर्ने उल्लेख गरेको छ ।

काठमाडौंमा माग्नेको यकिन तथ्यांक नभए पनि ५ सयदेखि एक हजारसम्म रहेको महानगरको अनुमान छ । बाटोमा अव्यवस्थित रूपमा माग्नेको संख्या बढेपछि त्यसलाई व्यवस्थापन गर्न लागेको महानगरको दाबी छ । माग्ने वा माग्न प्रोत्साहन गर्ने दुबैलाई कारबाही गर्ने महानगरपालिकाको सूचनामा उल्लेख छ ।

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘बाध्यताले सार्वजनिक स्थलमा जीवन निर्वाह गर्नुपर्ने परिस्थितिको अन्त्य हुन गइरहेकोले पेशेवर रूपमा भिक्षा माग्न र माग्न लगाउन पूर्णतः निषेध गरिको छ ।’

‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ नारासहित महानगरले तीन दिनभित्र सडकमा माग्ने भेटिए कानुनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ । मुलुकी अपराध संहिताको दफा १ सय २६ मा भिक्षा माग्न र भिक्षा माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।


  •  
  •  
  •