रुपन्देही १ माघ (ओएनएस) : गुल्मीको रिडी क्षेत्रमा आजदेखी माघेसंक्रान्ती मेला शुरु हुने भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी स्थीत काली गण्डकिमा स्नान गर्न आउने श्रद्धालुहरुको दिनभर घुँईचो लाग्ने गर्दछ ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ ।
जसका कारण यस क्षेत्रको महिमा नेपाल वाहिर पनि उत्तिकै वर्णन गरिन्छ ।
माघे संक्रान्तिको अवशरमा काली गण्डकिमा स्नान गरि र रिषीकेष मन्दिरमा पुजा आराधना गरि दर्शन गर्न गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, प्यूठान, वाग्लुङ्ग, रुपन्देही लगायतका जिल्लाहरुवाट हजारौं श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ ।
माघे संक्रान्तिको दिन काली गण्डकिमा स्नान गरेर रुरुकन्याको दर्शन गरेमा मानिसहरुले आफुले अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता रहि आएको छ ।
काली गण्डकिमा स्नान गर्नाले देव रिण, पितृ रिण तथा रिषी रिण तिरीने धार्मिक विश्वार पनि छ ।
माघे संक्रान्तिदेखि पाँच दिनसम्म रिडीमा ठूलो मेला लाग्दै छ । मेलालाई लक्षीत गरेर स्थानीय रुरु फ्रेण्ड्स क्लवले रिडीमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु सहित विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागेको छ । सोही अवशरमा उक्त क्षेत्रमा श्रीमद् भागवत महापुराण समेत संचालन हुँदै छ ।