धनगढी । पछिल्लो अवस्थामा थारु समुदायबीच नै माघ वा माघी पर्व भनेर फेसबुकमा चर्को बहस भइरहेको छ । थारु गाउँ बस्तीहरुमा माघको अवसर पारेर थुप्रै कार्यक्रमहरु भइरहेको सुनिन्छ ।
फेसबुकको स्टार्टसलेपनि देखाइरहेको छ । तर धेरैले माघलाई माघी बनाई रहेका छन् । माघ महोत्सवको ठाउँमा माघी महोत्सव, माघ मिलनको ठाउँमा माघी मिलन कार्यक्रम आदी । किन कि बोली चालीको भाषामा ‘माघ’ शब्द मिठास भएन अरे । कस्तो विदम्बना । हामी हाम्रो पुर्खाले आर्जेको शब्दहरुलाई मिठास भएन भनेर हत्या गरिरहेका छौं ।
हाम्रा पुर्खाहरुले माघमा स्नान गरेर आफू भन्दा ठूलालाई ढोग र सानालाई आर्शिवाद दिने चलन छ । हिजोका दिन हाम्रा पुर्खाहरुले उखान नै बनाएका थिए । ‘गंगा लहाए सब कुछ पाए, कुँवा लहाए थोर थार पाए, नल्का लहाए कुछ ना पाए’ (नदिमा नुहाए सोचेको सबै प्राप्त हुने, इनारमा नुहाए केही मात्रमा प्राप्त हुने र धारामा नुहाए केही पनि नपाउने) ।
यो उखान माघले थारुहरुको इतिहासलाई हाल सम्म पनि जोगाई राखेको छ । तर मलाई डर के मानेमा लाग्छ की, कहिकतै यो इतिहासलाई पनि मेटाईदिने हुन् कि ?

राम्रो प्रयास, अहिले पनि यूवाहरु सामुहिकरुपमा नदीमा नुहाउँन जान्छन् । नदीको छेउमा आगो ताप्ने व्यवस्था अधिल्लो दिन नै तयार पारिसकेका हुन्छन् । जसले गर्दा माघ पर्वले दिने सन्देश भित्र नै हाम्रो पहिचान लुकेको अभाष हुन्छ ।
माघको आफ्नै विशेषता छ । माघ आउनु भन्दा अगाबै बजारदेखि गाउँसम्म माघको गीत जुञ्ज्न्छि । हाम्रा पुर्खाहरुले माघ शब्द लोप नहोस् भनेर ‘धमार’ रचेका थिए । माघ लहइली सुरिक सिकार खैली रे हाँ …. ।
सखिय हो माघक पिबि गुरी गुरी जाँर …… । यो धमारलेपनि व्याख्य गरिरहेको छ । कि थारु समुदायले मनाउने पर्व माघी होईन माघ हो ।
माघ पर्व, विदेशीएका थारु यूवाहरुलाई पनि जन्मभूमि तिर तान्ने शक्ति छ । पछिल्लो केही वर्ष यता विदेशीयका यूवाहरु भने गाउँ आउँन नसकेपनि विदेश मै माघ महोत्सवहरु मनाई रहेको सुनिन्छ ।
उहाँहरु फेसबुक टुयूटर मार्फत सम्झनाका तरेलीहरु पस्कि रहेका छन् । उहाँहरु हृदयदेखि माघ पर्व मनाएपनि, माघ पर्व लेखेर थारु शब्दमाथी प्रहार भइरहेको देख्दा थारु बुद्धिजिविहरु गोलबद्ध भएर बहस गर्न आवश्यक छ ।
हुन त गैर थारुहरु थारु शब्द उचारण गर्न नजान्दा शब्द नै कस्मेटिक भइरहेको छ । जुन कारण हाम्रा पुर्खाले आर्जेका धेरै शब्दको हत्या समेत भई सक्यो । अब भने हाम्रा थारु यूवाहरुले पुर्खाले आर्जेको सम्पत्ति आफ्नै सम्पत्ति ठानेर जोगाउन जरुरी छ ।
माघमा थारु महिलाको मुस्कान
माघ पर्वमा सबै भन्दा बढी थारु महिला खुशी हुन्छन् । पस महिना लाग्ने वित्तिकै थारु समुदायका घरहरु रगिंने, विबाहित चेलीहरुको ओठमा एकाएक मुस्कान छाउने गरिन्छ ।
वर्षभरि श्रीमानको घरमा विताएका तिता मिठापलहरु माईत गएर साथी संगीहरुसंग भलाकुसारी गर्ने अवसरलाई सम्झदा जो कोहीलाई पनि खुशी त लाग्छ नै । त्यो पल थारु समुदायका यूवतिहरुको अनुहारमा प्रस्त देखिन सकिन्छ । उनीहरु पौष मसान्तको आगमनमा रमाउँदै माईतीतिर लाग्छन् ।
पौष मसान्तको दिन माईति आएका चेलीसँगै गाउँमा रहेका चेली, बुहारी सबै भलाकुसारी गर्दै नजिकको खोला, नदि, तलाउमा रमाउँदै माछा मार्न जान्छन् । माछा मार्ने त एउटा बहान हुन्छ । त्यो जमघटमा महिनौ दिनसम्म मनमा गुम्सिएका कुराहरु साथी संगीहरुसँग सातसाट गर्ने गर्दछन् । हाँस्दै, खेल्दै रमाईलो गर्दै माछा मार्छन् र साँझा सबै आ आफ्नो घर तिर लाग्छन् ।
घर आउँदा सबैको घर घरमा बंगुर, सुंगुरको मासु पाकेको हुन्छ । सबैको घरमा चामलको रक्सी, जारको झोल तयारी अवस्थामा हुन्छ । कोही कोही त अन्दीको चामलको रक्सी बनाउने गर्दछन् । गाउँ भरिका मान्छे एकले अर्काको घरमा पालै पालो गरि तयारी अवस्थामा रहेको खाने कुरा खान्छन् र रमाईलो गर्दछन् ।
घ महिना थारु समुदायका लागि विशेष महिना हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा धार्मिक हिसाबले यो महिना अन्य महिनाको भन्दा बढी महत्वपूर्ण छ ।
माघ १ गतेलाई सबै नेपाली समुदायले माघे–संक्रान्तिको रूपमा मनाउने गर्छन् । थारु समुदायको लागि त माघ पूरै महिना विशेष हुन्छ । त्यसैले माघ पर्वलाई थारुले नयाँ वर्षको रूपमा मनाउँछन् । माघ १ गते थारु परिवारका सबै सदस्यले नदी, खोला, तलाउ, कुवा वा पायकपर्ने जलाशयमा गएर अनिवार्यरूपमा स्नानगर्ने गर्छन् । यसरी नुहाउने प्रचलनलाई थारुमा ‘माघ लहान’ भन्ने गरिन्छ ।
माघ लहानलाई विशेष बनाउन थारुहरु पुसको अन्तिम दिन रातभर जाग्राम बस्ने गर्छन् जुनबेला थारु महिलाको ठूलो भूमिका हुन्छ । पुरुष रात भरि डफ लिएर, धमार र डम्फु बजाएर गीत गाउने गर्छन् भने महिला खानपीनको परिकार जस्तैः ढिक्री, खेरिया, अन्दीको भात, तरुल, गैजी पकाएर जाग्रम बस्नेलाई साथ दिदै रक्सी बनाउने काम पनि गर्छन् । त्यो दिन पुरुष मात्र होईन महिलाहरु पनि खुलेर रमाइलो गर्ने गर्दछन् । जब भाले बास्छ अनि घरका सदस्यहरू सामूहिकरूपले नुहाउन जलाशयतिर गीत गाउँदै प्रस्थान गर्छन् ।
वर्षमा एक पटक जलदेवतासंग पानी किन्छन्
जलाशयतिर जानु अगाडि घरमूलीले स्नान गर्नजाने सबै सदस्यलाई पैसाको सिक्का बाँड्ने प्रचलन छ । पानीमा डुबुल्की मार्नुअघि नै जलदेवतालाई सो सिक्का चढाएर मात्र स्नान गर्छन् । वर्षमा एकदिन पानी खरिद गरी स्नान गर्नाले जलदेवता खुशी हुने र मागेको फल प्राप्त हुने विश्वास छ ।
निसराउँ दिने चलन कायमै
माघमा थारुहरूले गच्छेअनुसारको दान गर्छन् । शुद्ध जलाशयमा स्नान गरेपछि घरमा उत्पादित अन्न, चामल, दाल, बजारबाट खरिद गरिएको नुन, नगद, जिन्सी तथा लत्ताकपडाका सामानहरू विवाह गरी गएका चेलीबेटीलाई प्रदान गरिन्छ ।
यसरी छुट्याइएको दानरूपी उपहार सामग्रीलाई थारुमा ‘निसराउ’ भनिन्छ । माघ पर्वमा माइती बोलाइएका विवाहित चेलीबेटीलाई त्यही निसराउ उपहारको रूपमा दिएर घर पठाउने प्रचलन छ । उपहारका लागि छुट्याइएको निसराउ चेलीबेटीलाई अनिवार्यरूपले दिनुपर्छ । दान नदिएर घरमै प्रयोग गरेमा त्यसले अशुभ हुने मानिन्छ ।
लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन
थारु समुदायले परापूर्वकालदेखि लोकतान्त्रिक प्रक्रियाको अङ्गीकार गर्दै आएको छ । घरको नेतृत्वकर्ता घरमुली हुन्छ । गाउँको नेतृत्वकर्ता बरघर हुन्छ । गाउँभरिको सूचना प्रवाहकर्तालाई चिरक्या भनिन्छ । हुलाकीको कामगर्ने चौकीदार हुन्छ । घरदेवता चलाउने घरगुरुवा हुन्छ ।
गाउँभरिको देवता हेर्ने केसौका, बड्का गुरुवा हुन्छ । धेरै गाउँको देवता हेर्ने देशबन्ध्या हुन्छ । फलामको काम गर्ने, कपडा सिलाई गर्ने सबैको जिम्मेवारी तोकिन्छ । पाएको जिम्मेवारीअनुसार सबैले भूमिका निर्वाह गर्नुपर्छ ।
जिम्मेवारी गरेअनुसारको सबैको वार्षिक पारिश्रमिक तोकिएको हुन्छ । कोही नगदमा लिन्छ त कसैले अन्न लिनेगर्छ । सो नेतृत्व चयनमा महिलाहरुको पूर्ण सहभागिता हुने गर्दछ । पछिल्लो चराणमा महिलाहरुले पनि बरघर, भलमन्सा जस्ता नेतृत्व समाल्दै आएका छन् ।
माथि उल्लेखित यी सबै पदका लागि सामूहिक निर्णय अनिवार्य हुन्छ । सकेसम्म व्यक्तिको सक्रियता र परिपक्वता हेरी सर्बसम्मत उम्मेदवार छानिन्छ । त्यो सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान गर्ने वा गोलाप्रथाबाट पनि टुङ्ग्याउने प्रचलन छ । जिम्मेवारी दिँंदा महिला र पुरुषलाई बरावरी मूल्याकंन गरिन्छ । महिलापनि घरको होस् या गाउँको, जिम्मेवारी लिन तयार हुन्छन् । र कुनै ठाउँमा चुनाव जितेरपनि जिम्मेवारी समाल्दै आएका छन् ।
कुनै घरको घरमुली महिला हुन्छ, कुनै घरको पुरुष । कुनै गाउँको बरघर महिला हुन्छ भने कुनै गाउँको पुरुष । कुनै गाउँको बरघर गैरथारु भएको पनि उदाहरण छ ।
गाउँको भेला र सामूहिक छलफलले जे निर्णय गर्छ, त्यही सबैलाई मान्य हुन्छ । अरु बेला बोल्न नसक्ने महिलाहरु माघमा निर्धकक भएर बोल्न सक्छन् । गाउँको हरेक काम कारबाहीको समिक्षा पनि हुन्छ ।
माघको नरमाईलो पक्ष ‘विगतको भल्को’
माघले थारु महिलामा खुशी मात्र ल्याउदैन दुखका क्षणहरु अनगन्ती छन् । कमलहरी प्रथा कायमै हुँदा छोरी मालिकको घरबाट छुट्कारा दिने वा मालिकको घर पठाउँने निर्णय माघ महिनामै गर्ने गरिन्थ्यो ।
वर्ष भरि मालिकको घरमा बसेका चेलीहरुको ओठमा पनि मुस्कान छाउँथ्यो । किन कि उ माघ मनाउन आफ्नो घर आउन पाउँथ्यो । तर कोही भने कालो बादल मडारिएर आए जस्तै अन्धयारो अनुहार लिएर माघ मनाउँन बाध्य पनि हुन्थे ।
किनकी माघ १ गते पछि कमैया बसेकाहरु मालिकको घर छोड्ने, कोही कमैया बस्नु पर्ने, नयाँ मालिकको घर जोडिनुपर्ने, त्यसैगरि कमलहरीहरुको हकमा पनि त्यही हुन्थ्यो ।
भाग्यबस अहिले सरकारले कमैया कमलहरी प्रथा अन्त्य गरेको छ । तत्कालिन सरकार कमलहरीलाई मुक्त घोषणा गरे पश्चात पनि २०७२ सालको तथ्यांकमा भने १३ हजार १ सय ५६ कमलहरी मध्ये ४ सय २४ जना कमलहरीलाई मुक्तगर्न बाँकी रहेको देखिन्छ ।
कमलहरी प्रथाले गर्दा माघ आए लगतै थारु महिलाको मन झस्यांग बनाई दिन्छ । मलिकको घरमा कमलहरी बसेकै अवस्थामा साविक चौमाला गा.बि.स वडा नं ८ डैडवार मुक्त कमैया वस्तीका मुघी चौधरीको काठमाडौमै मालिकको घरमा मटीतेल खन्याई हत्या भएको थियो ।
त्यसैगरि धनगढी कैलाली घर भएका उर्मिला राना धनगढी स्थित प्रकाश बिष्टको घरमा कमलहरी बसेकै अवस्थामा झुन्डीए हत्या भएको थियो भने दाङ लालमटीया घर भएकी सृजना चौधरीको काठमाडौं ललितपुरको चाकुपाटमा इन्जीनियर युवराज पौडेलको घरमा मटीतेल हालेर हत्या भएको थियो । यी इतिहासले थारु महिलाहरुकोलागि माघसँग घनिष्ट सम्बन्ध जोडिएको छ ।
पछिल्लो चरणको राजनीतिक अवस्थामा थारु महिलाहरु आफ्नो ईतिहासलाई सम्झदै फेरीपनि कोही कसैको दास न बनोस् । चाहे त्यो आर्थिक क्षेत्र होस् या राजनीतिक क्षेत्र । माघ महिनाले महिलाहरुलाई भाईचारको सम्बन्धमा दिने खुशी सधैभरि कायमै होस् ।
थारु महिलाहरुपनि माघ महिनामै आफ्नो सृजनात्मक शक्तिलाई प्रस्फुटन गर्ने वातावरण सहज होस् भन्ने सबैमा शुभकामना छ ।