अाज थारु समुदायको नयाँ वर्ष, मकर संक्रान्ति पनि

288
  •  
  •  
  •  

काठमाडौं, १ माघ (ओएनएस) : आज माघ १ गते माघी पर्व, मकर संक्रान्ति। थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाइँदैछ।

पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ।

माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लागेका कृष्णराज सर्वहारीले जानकारी दिए।

२०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो। यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ।

धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

आजको दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ।

साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गर्छ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

गत मंसिर २९ गते पूर्वमा अस्ताएको शुक्र माघ १८ गते पश्चिमबाट उदाउने समितिले जनाएको छ।


  •  
  •  
  •