प्रमुख दलहरू माघ ८ टार्ने बहाना खोज्दै

94
  •  
  •  
  •  

बुधबार बालुवाटारमा बसेको ४ दलीय बैठक । तस्वीर  शीव खकुरेलको फेसबुकबाट

काठमाडौं, पुस २० : संविधान निर्माणका लागि दलहरूले आफैले तोकेको माघ ८ लाई टार्न विभिन्न बहानाको खोजी गर्न थालेका छन् । प्रधामनमन्त्री निवास बालुवाटारमा शनिबार भएको कांग्रेस, एमाले, एमाोवादी र मधेशी मोर्चाको बैठकमा त्यस्तै बहाना निकाल्नेबारेमा छलफल भयो ।

एमाओवादीले संविधान निर्माण र शान्ति प्रक्रियामा प्याकेजमै सहमति हुनुपर्ने शर्त राखेको छ । एमाओवादीले संविधानसँग शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नुपर्ने धारणा राखेको हो ।

‘एमाओवादीले सबै कुरा प्याकेजमा गरौ भन्ने प्रस्ताव राख्यो’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘संविधानका बिषयमा खास छलफल भएन ।’ उनले सहमतिका लागि बिभिन्न विकल्पमा छलफल भए पनि टुंगोमा नपुगेको जनाए ।

संविधान निर्माणको समयसीमा नजिकिदै गर्दा आलोपालो नयाँ शर्त राख्ने काम प्रमुख दलले गरेका छन् । केही दिन अघि कांग्रेस, एमालेले विपक्षी एमाओवादीले सुन्नै नचाहने गरी संघीयताबारे प्रस्ताव राखे । संघीय प्रदेशमा जातीय पहिचान हुनै नहुने प्रस्ताव कांग्रेस र एमालेको थियो । जसले केही दिन बैठक अवरुद्ध भयो । शनिबार एमाओवादीले संविधान र शान्ति प्रक्रियामा प्याकेजमा हुनुपर्ने कुरा राख्यो ।

‘बैठकमा खास छलफल भएन’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अल्छि पाराले भने, ‘प्रगति केही छैन ।’ खास विषयमा प्रवेश नभए पनि प्रमुख दलको बैठक दुई चरणमा बसेको थियो । पहिलो चरणमा कांग्रेस, एमाले र एमाओवादीको र बेलुका चार पक्षबीच छलफल भएको थियो । आइबार बिहान छुट्टाछुट्टै छलफल गरी फेरि संयुक्त बैठक गर्ने निर्णय उनीहरुले गरेका छन् । कान्तिपुरबाट


  •  
  •  
  •