माघ ८ मा संविधान आएन, जनतालाई के जवाफ दिनुहुन्छ सभासदज्यू ?

54
  •  
  •  
  •  

law maker_काठमाडौ, ८ माघ(ओएनएस) : दलहरूले ‘एक वर्षभित्र संविधान जारी गर्छौ’ भनेर संविधानसभा निर्वाचनमा जनतासमक्ष बाचा गरेका थिए । तर, दलहरूले संविधान जारी गर्न तोकिएको अन्तिम मिति ८ मा संविधान ल्याउन सकेनन् । अब सभासदहरूले आफ्ना मतदातालाई के उत्तर देलान् ?

कास्की क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यको लागि निर्वाचित भएका एमाले सभासद रवीन्द्र अधिकारीले विपक्षीले संविधानलाई बन्धक बनाउदा संविधान ल्याउन नसकेको जवाफ दिने बताउँछन् । ‘विपक्षीले संविधान निर्माण प्रक्रियामा अवरोध गर्दा तोकिएको मितिमा संविधान बनेन, संविधानसभालाई भाड्न खोज्ने, बन्धन बनाउन खोज्नेहरू संविधानको विरोधी हुन् ।’ सभासद अधिकारीले भने, ‘अब प्रक्रियामा गएर संविधान जारी गर्नुको विकल्प छैन । दुई तिहाईबाट अबको एक महिना भित्र संविधान जारी गर्न प्रतिबद्ध छु ।’

यता, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की सभासद रुकुमिणी चौधरी आफूले चाहे पनि शीर्ष नेताहरूको कारण संविधान बन्न नसकेको जनतालाई जवाफ दिने बताउँछिन् । उनले आफूले एक वर्षभित्र संविधान ल्याउँछु भनेर जनतासँग प्रतिबद्धता नगरेको बताउँदै भन्छिन्, ‘हामीले पार्टीको घोषणापत्रमा चार वर्षभित्रमा संविधान ल्याउछौ भनेका छौ ।’ उनले शीर्ष नेताहरूले भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने कारण संविधान बन्न अवरोध भएको बताईन् । ‘प्रमुख दलका शीर्ष नेतृत्व संविधान बनाउन गंभिर छैन, हामीले त चाहेकै हो तर हामी जस्ता सभासदको केहि चलेन ।’

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको तर्फबाट सभासद बनेका मोहनबहादुर बस्नेतले संविधान नआउनुमा विपक्षी दोषी रहेको आरोप लगाए । ‘संविधान बनाउन हामी कस्सेर लाग्यौ तर एमाओवादी लगायतका विपक्षीहरूले अवरोध गरिरहे, सबैलाई थाहा छ संविधान ल्याउन को विरोधी छ भनेर ।’ बस्नेतले भने, ‘प्रक्रियामा गएर सकेसम्म चाँडो संविधान ल्याउँछौ भनेर जनतालाई भन्नेछु ।’

यता फोरम नेपालका सभासद अभिषेक प्रताप शाह माघ ८ मा संविधान नआए फागुन ८ मा संविधान आउँछ भनेर आफ्ना मतदातालाई उत्तर दिने बताउँछन् । कपिलवस्तु–५ बाट निर्वाचित भएका शाहले भने, ‘नेताहरूको संकुचित चिन्तन र स्वार्थको कारणले गर्दा संविधान आउन नसकेको हो । सबैले सहमति गरेर मात्र संविधान ल्याउन सकिन्छ ।’

नेकपा मालेका समानुपातितर्फका सभासद अइन्द्रसुन्दर नेम्वाङ दलहरूबीच सहमति हुन नसक्दा संविधान आउन नसकेको जवाफ दिने बताए । ‘हामीले सभाध्यक्षलाई दुई तिहाई सभासदहरूको हस्ताक्षर बुझाएका पनि थियौ, तर शीर्ष नेताहरूबीच सहमति हुन सकेन ।’ नेम्वाङले भने, ‘संविधानलाई अनिर्णयको बन्दी बनाउन सकिदैन, अब प्रक्रियामा गएर संविधान ल्याउनुपर्छ ।’


  •  
  •  
  •