काठमाडौँ, २ मंसिर(ओएनएस) : यस वर्षको सिएनएन हिरोको उपाधी अमेरिकी युवती म्यागी डोयनले हात पारेकी छिन् । नेपाली महिला तथा बालबालिकाका लागि काम गरिरहेकी म्यागीलाई अमेरिकामा मंगलबार भएको एक कार्यक्रमकाबीच सिएनएन हिरोको उपाधी प्रदान गरिएको हो ।
१० जना प्रतिष्पर्धीबाट म्यागीलाई अनलाइन भोटिङको आधारमा विजेता घोषित गरिएको हो । उनले १ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेकी छिन् साथै उत्कृष्ट १० मा परेका हरेकले पाउने थप १० हजार डलर पनि पाएकी छिन् । नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेतले पनि सिएनएन हिरोको उपाधी हात पारिसकेका छन् ।
म्यागीले करिब १० वर्ष अगाडि नेपाल भ्रमण गरेर फर्केदेखी नै नेपाली महिला र बालबालिकाका लागि काम गर्ने सोच बनाएकी थिइन् । उनले विभिन्न कारणले बाआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी छिन् । सुर्खेत, वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छन् ।
उपाधी हासिल गरेपछि उनले भनिन्, ‘मलाई म १८ वर्षको हुँदा कसैले तिमी ५० वटा बच्चाहरूको आमा बन्ने छौ भने भए म उसलाई तिमी के भन्दैछौ भन्थे । अहिले म ५० वटा बच्चाको आमा भएकी छु । म उनीहरूलाई निकै माया गर्छु । मैले तिमीहरूलाई कति माया गर्छु भन्ने नबिर्सनु । मलाई माया गरेको र स्विकार गरेकोमा नेपाललाई पनि धन्यवाद दिन चाहन्छु ।’