बाढी र पहिरोका कारण म्याग्दीमा ३२ जनाभन्दा बढी बेपत्ता

78
  •  
  •  
  •  

म्याग्दी । बाढी र पहिरोका कारण म्याग्दीमा ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । म्याग्दीका विभिन्न स्थानका ३५ घर पुरिएका छन् ।

बाढीले बगाएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगाको बेलिब्रिज।

जिल्ला विपत् व्यवस्थापन समितिले पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका – ६ मराङका २१ वटा जना बेपत्ता भएका छन् । यस्तै वडा नम्बर ७ ताकममा ३ जना र मालिका गाउँपालिका ७ बिमका ८ जना बेपत्ता भएका जनाइएको छ ।

मालिकाका वडा नम्बर ६ दुखुका एक जनालाई खोलाले बगाएर बेपत्ता भएको जनाइएको छ ।

धौगागिरि गाउँपालिकाका–७ ताकमका २ जना र रघुगंगा गाउँपालिकाका १ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।

यस्तै मराङका २० घर, बिमका १० घर र ताकमका ५ घर पहिरोमा पुरिएको जनाइएको छ भने मालिका गाउँपालिका–४ देवीस्थानका ५ घरमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले म्याग्दी र राहुघाट खोलामा जोखिम बढेपछि बेनी मंगलाघाट–७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

समितिले घर पुरिएका पीडित र जोखिममा रहेका गरी कुल ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

पहिरोले बस्ती नै घेरेकाले उद्धार टोलीलाई घटनास्थल पुग्न समस्या भइरहेको छ । प्रहरी र सेनाको टोली उद्धार गर्न घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


  •  
  •  
  •