मुगुमा दश हजार लिटर अबैध मदिरा नष्ट

खानेलाई ५ हजार, खुवाउनेलाई १५ हजार रुपैयाँ जरिवाना
296
  •  
  •  
  •  

मुगु, ३० पुस(ओएनएस) : गएको मंसिर १ गते मदिरा निषेधित नगर घोषणा गरिएको छायाँनाथ रारा नगरपालिकामा सर्च टोलीले आइतबार १० हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

छायाँनाथ रारा नगरपालिका, प्रहरी प्रशासनको सहयोगमा सर्च टोली गठन गरी छापा मार्दा १० हजार लिटर अबैध घरेलु मदिरा भेटिएको थियो ।

भेटिएको अबैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

प्रहरी प्रमुख रेग्मीका अनुसार १० हजार लिटर मदिरा, ३० वटा रक्सी बनाउने भाँडाकुँडा बरामद गरिएको थियो ।

मुगु जिल्लामा भएका आपराधिक क्रियाकलापहरूमा ९० प्रतिशतभन्दा बढी घटना मदिरा सम्बन्धित रहेको भन्दै जिल्लाका सरोकारवाला निकाय प्रहरी प्रशसनको सहयोगमा गहेको मंसिर १ गते छायाँनाथ रारा नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा गरिएको थियो ।

मदिरा निषेधित घोषणलाई घोषणमा सिमित नबनाई थप प्रभावकारी बनाउन यस्तो सर्च अभियान थालिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताए ।

उनका अनुसार घोषणा गरिएको नगरपालिकामा मदिरा उत्पादन गरेको, विक्रीवितरण गरेर अवज्ञा गरेको भन्दै सर्च टोलीले छापा हानेको जानकारी दिए । यो अभियान सबैको भएकाले सबैलाई सहयोग गर्न प्रजिअ अधिकारीले आग्रह समेत गरेका छन् ।

मुगुमा मदिराले विभिन्न किसिमका आपराधिक क्रियाकलापहरू बढाएको र त्यसमा सबैभन्दा बढी कारक तत्वका रूपमा घरेलु मदिरा रहेकाले छायाँनाथ रारा नगरपालिकालाई पुर्ण रुपमा मदिरा निषेधित नगर घोषाण गरिएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए ।

घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा नियन्त्रण गर्न जरुरी भएको उनको भनाइ छ । यो अभियानलाई निरन्तररुपमा अगाडी बढाइने र विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम गरी थप प्रभावकारी बनाई एक उदाहरणिय नगरपालिका बनाइने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

मदिरा खान पाउँ भन्दै आन्दोलन

छायाँनाथ रारा नगरपालिका भित्र बसोबास गदै आएका लामाहरुले मदिरा खान पाउँ भन्दै आन्दोलन गरेका छन ।
सर्च टोलीले छापा हानेर मदिरा बरामत गरेपछि लामा जातिका महिला एकजुट भई मदिरा खानपाउँ भन्दै आन्दोलन गरेका हुन् ।

मदिरा हाम्रो पुजापाठ गर्ने अन्य शुभकार्यमा प्रयोग गर्ने बेला अनिवार्य चाहिन्छ भन्दै सदुमुकाम गमगढीमा लामा जातिका महिलाले आइतबार आन्दोलन चर्काएका थिए ।

आन्दोलन हुदाँ मुगु सदरमुकमा गमगढी केहिबेर तनावग्रसत बनेको थियो । आन्दोलनका क्रममा केही प्रदर्शनकारी र प्रहरी समेत सामान्य घाइते भएका थिए ।

लुकिछिपि ब्यापार

लामा जातिका महिलाले छायाँनाथ रारा नगरपालिकामा लुकिछिपि अबैध घरेलु मदिराको ब्यापार गरेको सूचनाको आधारमा सर्च टोलीले छापा मार्दा उक्त मदिरा बरामद गरेको हो ।

पहिला ७० रुपैयाँ पर्ने लोकल रक्सीलाई १ सय रुपैयाँमा बिक्रिवितरण गर्ने गरेको सूचनाको आधारमा छापा हानिएको सशस्त्र प्रहरी बल ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक बसन्त बहादुर सिंहले जानकारी दिए । यो अभियानमा स्थानीय सरकार, नेपाल प्रहरी, शसस्त्र प्रहरी, प्रशासन, स्थानीय, ब्यापारीले साथ दिइरहेका छन् ।
सबैको सल्लाहमा ६ वटा सर्च टोली समेत गठन गरिएको छ ।

अबैध मदिराको ब्यापार गर्नेलाई कारबाही

छायाँनाथ रारा नगरपालिकाले अबैध मदिरा ओसारपोसार गर्ने, बिक्रिवितरण गर्नेलाई कारबाही गर्ने गरेको छ ।
छायाँनाथ रारा नगरपालिकालाई मदिरा निषेधित घोषण गरेसँगै मदिरा खाएको भेटिएमा खानेलाई ५ हजार रुपैयाँ र खुवाउनेलाई १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने गरेको नगरपालिकाले जनाएको छ ।‘मदिरा ऐन २०७५ कार्यविधि’ अनुसार यस्तो जरिवाना गर्ने गरेको हो ।

मदिरको कार्यविधि पास नहुँदै खानेलाई २ हजार रुपैयाँ र खुवाउनेलाई ४ हजार रुपैयाँका दरले जरिवाना गर्ने गरेको भएपनि कार्यविधि नगरसभाबाट पास भएसंगै खानेलाई ५ हजार र खुवाउनेलाई १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहिले जानकारी दिए ।


  •  
  •  
  •