मधेसी नेताको दिमागबाट एक मधेसको नारा हटाइदिएको गच्छदारको दाबी

127
  •  
  •  
  •  

काठमाडौं, असोज ११ (ओएनएस) ः मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफूले मधेसी नेताहरुको दिमागबाट ‘एक मधेस प्रदेश’को नारा हटाइदिएको दावी गरेका छन् ।

संविधानमा थारुको मुद्दाबारे छलफल गर्न शनिबार आयोजित कार्यक्रममा गच्छदारले मधेसमा दुई प्रदेश हुने बताए । उनले भने–‘वीरगञ्जदेखि झापासम्म र चितवनदेखि कञ्चनपुरसम्म गरी दुईवटा प्रदेश बनाउनुपर्छ । यसका लागि भूमिका खेल्न म तयार छु ।’

तर, मधेसमा तराई थरुहट प्रदेश भने हुन नसक्ने गच्छदारले बताए । फोरम लोकतान्त्रिकका गच्छदारले अखण्ड सुदूरपश्चिमले पश्चिमा थरुहट प्रदेश र पूर्वमा मधेस प्रदेशका लागि समस्या सिर्जना गरेको बताए ।

नयाँ संविधान थारु, मधेसी, जनजाति र दलितलाई चाहिएको भन्दै उनले माघ ८ मा संविधान नआए के हुन्छ भनेर आफूले कांग्रेस, एमाले र एमाओवादीका नेताहरुलाई सचेत गराइसकेको बताए ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले थारु र मधेसीले एकअर्काको विरोध गर्न नहुने बताए । आफू मधेसी नभई थारु भएको भन्दै गच्छदारले भने–‘‘थारु साथीहरुको नारा मलाई मन पर्छ । तर, म ती नारा लगाउन सक्दिन ।’’ गच्छदारले सीके राउत उपेन्द्र यादव जसरी नै मधेसको राजनीतिमा आएको टिप्पणी गरेका छन् । उनले भने–‘उपेन्द्र यादव जसरी मधेस राजनीतिमा आए, त्यसरी नै सीके राउत आइरहेका छन् ।’

कार्यक्रममा लक्ष्मण थारुले काँग्रेस सभासदहरुले अखण्ड सुदूरपश्चिमलाई उचालेको भन्दै त्यसले थारुहरुको मुद्दालाई नसमेट्ने बताए ।

सभासद गोपाल दहितले सडक र सदनमा आन्दोलन गर्न नसक्ने हो भने ४७ सालको भन्दा पनि काम नलाग्ने संविधान बन्ने दाबी गरे । उनले कांग्रेस–एमालेले भने जस्तो उत्तर दक्षिण चिर्ने संघीयता स्वीकार्य नहुने बताए ।


  •  
  •  
  •