मधेसी मोर्चाले संविधान संसोधनबारे समिक्षा गर्ने

136
  •  
  •  
  •  

काठमाडौँ, १० माघ(ओएनएस) : सत्तापक्ष तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार संसदमा पारित गरेको संविधानको पहिलो संशोधनका सम्बन्धमा मधेसी मोर्चाले आज समिक्षा गर्ने भएको छ ।

५ दलले परिमार्जनसहित संविधान संशोधन गरिए त्यसले मधेसी दलको माग सम्बोधन हुने भन्दै संसदमा दर्ता गरेको विधेयक शनिबार संसदले पारित गरेपछि संशोधनले आफ्ना माग सम्बोधन गर्ने या नगर्ने भन्नेबारे पनि छलफल गर्ने बुझिएको छ । आज दिउँसो छलफल गरेर प्रमुख दलहरुले गरेको संविधान संसोधनका विषयमा धारणा तय गर्ने तराई मधेस लोकतान्त्रिक पार्टी संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले बताए ।

यसअघि मधेसी मोर्चाले प्रस्तावित संविधान संशोधन अपूरो भएको भन्दै संशोधन भएपनि आफूहरूलाई स्वीकार्य नहुने बताउँदै आएको थियो । नेता शुक्लाले संविधान संशोधन अपूरो भएकाले अब मोर्चा कसरी अगाडी बढ्ने भन्नेमा छलफल गर्ने बताए । अन्तर्राष्ट्रिय समुदायलाई खुसी पार्न मात्र संविधान संसोधन गरेको मोर्चाको निस्कर्ष छ ।

गएराती संविधान संसोधन हुँदा मोर्चा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टीसहित थरुहट तराई पार्टीले संसदमा नाराबाजी गरेको थियो । मतदानमा संविधान संशोधनको पक्षमा ४ सय ६१ मत परेको थियो भने विपक्षमा सात मत परेको थियो । संसदमा ४ सय ६८ सांसदको उपस्थिति रहेको थियो । विपक्षमा मतदान गर्नेमा नेपाल मजदूर किसान पार्टी पनि रहेको थियो ।


  •  
  •  
  •