सरकारसँग वार्तामा बस्ने मोर्चाको निर्णय

256
  •  
  •  
  •  

काठमाडौँ, १३ असोज(ओएनएस) : नयाँ संविधानमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ । मोर्चाको रौतहटको गौरमा आज बुधबार बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो ।

बिहिबार मोर्चाको तर्फबाट ठाकुरको नेतृत्वमा तीन दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । शीर्ष नेताहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित वार्ताका लागि औपचारिक पत्र पठाएपछि मात्र मोर्चाले वार्ता टोली गठन गर्ने मोर्चाका एक नेताले बताए ।

प्रमुख तीन दलले यसअघि नै आन्दोलनरत दलसँग वार्ता गर्नका लागि तीन सदस्यीय टोली गठन गरिसकेको छ । वार्ता टोलीले मोर्चासँग पटक‍पटक अनौपचारिक छलफल समेत गरिसकेको छ ।

आजको बैठकमा मोर्चाका नेता महन्थ ठाकुरले तीन दलको वार्ता टोलीसँग भएको छलफलबारे मोर्चामा आबद्ध अन्य दलका नेताहरूलाई जानकारी दिएका थिए । मोर्चाले वार्ताका पूर्वशर्तको रुपमा नेपाली सेना, सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनकारी माथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग राखेको छ ।


  •  
  •  
  •