मधेसी नेतामाथि भारतीयद्वारा हातपात

124
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक ।
रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेताकार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन्।

३०-४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन्।मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका बासिन्दा आक्रोशित भएका हुन्।

नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्नुका साथै दुव्र्यवहार गरेको बताए।

उनले भने, ‘उनीहरूले हातपात त गरेनन् तर जथाभाबी बोल्दै गालीगलौज गरे। तर धर्नामा बसेका मोर्चाका एक नेताले भने भारतीयहरूले अपशब्द बोल्दै गालीगलौज गरेर केही नेतालाई हातपात गरेको बताए।

ती भारतीय नागरिकले मोर्चाका नेता रातभरि घरमा सुतेर कार्यकर्तालाई मात्रै धर्नामा बसाएको, प्रहरीको गोलीको सिकार कार्यकर्ता र सर्वसाधारणलाई बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। मोर्चाका नेता इमानदारीपूर्वक आन्दोलनमा नलागेको उनीहरूको भनाइ थियो। (भारतीयको धम्कीपछि मोर्चाका नेता वीरगन्ज नाकाबाट गायब)

मोर्चाका नेताले नसके ‘मधेस आन्दोलन सफल बनाउन वारपारको लडाइँ लड्न आफूहरू तयार रहेको’ बताउँदै उनीहरूले अबदेखि मोर्चाका नेतालाई धर्नामा बस्न नदिने चेतावनी पनि दिएका थिए।आक्रोशित भारतीयले मोर्चाका नेताकै गल्ती र बेइमानीका कारण भारतीय युवक मारिएको आरोप पनि लगाएका थिए।

वीरगन्जमा प्रहरीको गोलीबाट मृत्यु भएका भारतीय युवकको शव वीरगन्जबाट भारत लैजाने क्रममा भारतीयले धर्नामा बसेका मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गरेको संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबु यादवले बताए।भारतीयले दुव्र्यवहार गर्दै धम्की दिएपछि मोर्चाका अधिकांश नेता मंगलबार साँझदेखि धर्नास्थल छाडेर हिँडेका छन्।

धर्नास्थल मितेरी पुलमा मंगलबार बेलुकादेखि मधेसी दलका केन्द्रीय स्तरका कोही नेता छैनन्।’दिउँसो एकदुईजना केन्द्रीय नेता धर्नामा बसेका थिए तर भारतीयले धम्क्याएपछि यहाँबाट एकाएक गायब भए’, धर्नामा बसेका मधेसी दलका एक युवाले भने।

सद्भावना पार्टीका केन्द्रीय सदस्य पटेलले भने स्थिति असहजजस्तो भएकाले रातिको समयमा बस्नु उचित नलागेर घरतिर हिँडेको बताए। संघीय समाजवादी फोरम नेपाल पर्साका सदस्य मदन यादवले धर्नामा फोरम नेपालका मात्र ५०-६० कार्यकर्ता बसिरहेको बताए।

भारतीयले सोमबार साँझ पनि मितेरी पुलमा धर्ना बसेका मधेसी मोर्चाका नेताकार्यकर्तामाथि आक्रमण गरेका थिए। साँझ ५ बजेतिर लाठी र भाटा बोकेर रक्सौलबाट आएका भारतीय नागरिकले धर्नामा बसेका सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय निजामुदिन समानी र देवेन्द्र मि श्रमाथि हातपात गरेका थिए।

हातपात हुन थालेपछि नेता मिश्र भागेर नेपाल प्रहरीको शरणमा पुगेका थिए । भारतीयले मोर्चाका कार्यकर्ताका १० वटा मोटरसाइकल पनि तोडफोड गरेका थिए।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •