काठमाडौं, १९ साउन (ओएनएस) : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेस केन्द्रित दललाई राष्ट्रियताको परिभाषा सिकाएका छन् । नेपाल भ्रमणको अन्तिम दिन मोदीसँग सामूहिक भुटवार्ता गरेका मधेसी दलले मधेसका एजेण्डामा सहयोग गर्न आग्रह गरेपछि प्रधानमन्त्री मोदीले आफूले समग्र नेपालको विकास निर्माणमा सहयोग गर्ने बताएर मधेसी दललाई हिस्स बनाएका हुन् ।
ह्यात रिसेन्सी होटलमा भएको मधेसी नेताहरूसँगको भेटमा मोदीले समग्र नेपालको विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘भारतका दश परियोजना नेपालमा सञ्चालित छन्’, मोदीले मधेसी नेताहरूसँगको भेटमा भने, ‘त्यसमा आठ वटा परियोजना पहाडमा सञ्चालित छन्, तराईमा २ वटा । त्यसैले भारतले समग्र नेपालको विकास निर्माणमा सहयोग गर्छ ।’
मोदीसँगको भेटमा सहभागी मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार मधेसी दलका नेताहरूले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन भारतले सहयोग गरोस भन्ने चाहना व्यक्त गरेका थिए । उनीहरूले हुलाकी राजमार्ग, जनकपुरको विकास र तराईमा विद्युत विस्तारका लागि सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा मोदीले समग्र नेपालको हितमा काम गर्ने र विकास निर्माणका काममा सहयोग गर्ने बताएका थिए ।
स्रोतका अनुसार मधेसी नेताहरू बारम्बार मधेसलाई केन्द्रमा राखेर प्रस्तुत भएपछि भारतीय प्रधानमन्त्री मोदीले मधेसी र पहाडेको भावना त्याग्न आग्रह गरेका थिए । उनले अहिलेको सूचना प्रविधिको युगमा केही पनि टाढा नहुने तर्क गर्दै पहाड हिमाल तराई सबै नेपाल भएको र यँहा बस्ने सबै नेपाली भएको बताएका थिए । ‘उहाँले प्रधानमन्त्रीको हैसियतमा ती कुरा गर्नु भएको हो’, ‘नाम उल्लेख नगर्ने शर्तमा भेटमा सहभागी एक नेताले भने, ‘मोदीजीले मधेसलाई त्यति महत्व दिएको देखिएन ।’
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवलगायतका मधेसी नेता मोदीलाई भेट्न ह्यात होटल पुगेका थिए ।