काठमाडौं २१ फागुन ।
नाका केन्द्रित आन्दोलन छोडेर शक्ति सञ्चय गरिरहेको लोकतान्त्रिक मधेसी मोर्चाका नेता आन्दोलनमा समर्थन जुटाउन फेरि दिल्ली जाने भएका छन्।
सरकार आफ्नो मागप्रति गम्भीर नभएको आरोप लगाउँदै बुधवार घोषित तेस्रो चरणको आन्दोलनको समर्थन खोज्न मोर्चाका शीर्ष नेताहरु आगामी साता नयाँदिल्ली जाने तयारी गरिरहेका छन्।
मोर्चाका संयोजक एवम् तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले विहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आफूहरु दिल्ली जान लागेको बताएका हुन्।
मार्च १२ तारिख अर्थात फागुन २९ गते शनिबारदेखि चैत २ गतेसम्म भारतको नयाँ दिल्लीमा कार्यक्रम भएकोले आफूहरु जाने तयारीमा जुटेको नेता ठाकुरले बताए। अध्यक्ष ठाकुरले दिल्ली भ्रमणमा भेटघाट गर्ने भारतीय नेताहरु र हुने सम्झौताबारे भने केही कुरा खोल्न मानेनन्।
‘हामी दिल्ली जादैँछौं, नेपाल-भारत महिला मैत्री समाजले निम्तो गरेको छ’, उनले भने, ‘त्यहाँ सतापक्षीय एवम् प्रतिपक्षका केही नेपाली नेताहरु पनि दिल्ली जानेछन्।’
यसैबीच नेता ठाकुरले मोर्चाको माग एवम् आन्दोलनप्रति सरकार अझै गम्भीर नदेखिएकोले मुलुक अर्को मुठभेडमा जाने खतरा बढेको चेतावनी दिएका छन्।
सरकार गम्भीर नहुँदा मुलुकमा आन्दोलन चर्किन पुगेको उनको भनाइ थियो।
‘सरकारले मोर्चासँग राम्रो व्यवहार र संवाद गरेको छैन, संवादमा अविश्वास र संसयको अवस्था हटेको छैन’, उनले भने, ‘त्यसैले मोर्चाको माग पुरा नहुँदा आन्दोलन मुठभेडमा जाने खतरा देखेका छौं।’
‘यतिबेला हामी शान्त छौं, तर कसैलाई पनि मधेसी मोर्चाको आन्दोलन तुहियो भन्ने भ्रम नहोस्’, उनले थपे, ‘यो शान्तपन आगामी आन्दोलनको तयारी हो। दुईपक्षवीच विभेद र खाडल बढेको छ ।
ओलीले संघीयताको सीमांकन, मोर्चाको आन्दोलन एवम् नाकावन्दीबारे कमल थापको संयोजकत्वमा एकसदस्यीय संयन्त्र घोषणा गरी भारतीय पक्षलाई आँखामा छारो हालेको ठाकुरले आरोप लगाए ।
‘भ्रमण गर्नका निम्ति भारतसँग ‘पान’ र ‘भिसा’ लिने काम गरिएको हो’, उनले भने, ‘तर उनको भ्रमण फलदायी नभएको मोर्चाले ठहर गरेको छ।’
वार्ता संवादबाटै समाधान होस् भन्नेतर्फ मोर्चा गम्भीर रहेको उनले जोड दिए । सतापक्ष एवं मुख्य तीन दल भारतलाई रिझाएर मोर्चाको आन्दोलन तुहाउने खेलमा रहेको आरोप लगाए।
‘तर त्यो सफल हुने स्थिति छैन। आपसी खाडल बढेको छ, विश्व जगतले बुझिरहेको छ’, उनले भने, ‘हामीमा अविश्वास संसयको अवस्था हट्न सकेको छैन। त्यसैले मुलुकलाई मुठभेडमा जाने खतराबाट बचाउन सरकार गम्भीरर बनोस्।’
यसैवीच तमलोपाले नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाका केन्द्रिय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक गरी विगतको आन्दोलनको समीक्षा गर्दै भावी संकल्पसम्बन्धी कार्यपत्र प्रस्तुत गरी सुझाव संकलन गरेकोछ। अन्नपूर्णपोष्टबाट