सिंहदरबार घेर्दै मधेसी दल

133
  •  
  •  
  •  

काठमाडौं १ जेठ ।

मधेसी दलले संघीय गठबन्धनको नेतृत्वमा २ र ३ जेठमा सिंहदरबार घेराउ कार्यक्रम तय गरेका छन् । १ जेठमा काठमाडौंको शान्तिवाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र २ जेठदेखि सिंहदरबार घेराउ गर्ने गठबन्धनको कार्यक्रम छ । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले माइतीघर मन्डलामा शान्तिपूर्ण र भद्र रूपमा धर्नामा सहभागी हुने कार्यक्रम तय भएको बताए । संयुक्त मधेसी मोर्चाको नेतृत्वमा १० महिनासम्मको मधेस आन्दोलन निष्कर्षमा नपुगेपछि मधेसी दल काठमाडौंकेन्द्रित भएका हुन् ।

आन्दोलन सशक्त बनाउने तयारी

दश महिनादेखि जारी मधेस आन्दोलन अनिश्चितकालीन हुने संकेत देखिएको छ । मधेसी दलले संयुक्त मोर्चा विस्तार गरी संघीय गठबन्धन बनाएर आन्दोलन सशक्त बनाउने निर्णय गरेका छन् । गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने भन्दै वार्ता बहसमै नरहेको बताए । ‘अहिले हामीले आन्दोलनबाहेक केही सोचेका छैनौँ,’ शुक्रबार संघीय समाजवादी फोरम कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘वार्ता हुने र आन्दोलन टुंगिने कुरामा बहस नै नगरौँ ।’

मोर्चाले केही दिनअघि सरकारले बोलाएको वार्तामा तत्काल नबस्ने निर्णय गरेको थियो । तमलोपाका उपाध्यक्ष वृजेशचन्द्र लालले ०७३ साल आन्दोलनमै बित्ने सम्भावना रहेको बताए । मोर्चाका एक नेताका अनुसार मधेसमा तत्काल आन्दोलन उठ्ने अवस्था नरहेको र मोर्चाभित्रको विवादका कारण पनि सरकारसँग सहमति जुट्ने सम्भावना कम छ ।

११ बुँदे ठीक कि २६ बुँदे

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ बुँदे माग राखेर मधेस आन्दोलन गरेको थियो ।

त्यसैमा केन्द्रित भएर मोर्चाले सरकारसँग ३६ पटक वार्तासमेत गरेको थियो । तर, संघीय गठबन्धनले २६ बुँदे नयाँ माग सार्वजनिक गरेपछि ११ बुँदे माग ठीक कि २६ बुँदे भन्ने विवाद मधेसी दलभित्र छ । तर, गठबन्धनका संयोजक उपेन्द्र यादवले २६ बुँदाभित्र ११ बुँदा परेकाले समस्या नरहेको बताए । ‘२६ बुँदाभित्र ११ बुँदा पनि परेका छन् । बाँकी बुँदा आन्दोलनका क्रममा थपिएका मात्रै हुन्, केही फरक छैन,’ यादवले भने । तर, सरकारले २६ वैशाखमा वार्तामा बोलाउँदा मोर्चालाई सम्बोधन गरी पत्र लेखेको थियो । नयाँपत्रिकाबाट


  •  
  •  
  •