संयन्त्रबाट सीमांकन टुंग्याउन मोर्चा सकारात्मक

194
  •  
  •  
  •  

काठमाडौं २४ पुस । राजनीतिक संयन्त्रमार्फत् एक महिनाभित्र सीमांकन विवाद सुल्झाउन मधेसी मोर्चा सकारात्मक देखिएको छ ।

सत्तारुढ-विपक्षी र मधेसी मोर्चा सम्मिलित कार्यदलको बिहीबार विहान सिंहदरबारमा बसेको बैठकमा मोर्चाले संयन्त्र बनाउने प्रस्तावप्रति सकारात्मक संकेत दिएको हो । मोर्चा प्रतिनिधिले संयन्त्रको संवैधानिक वैधता र कार्यादेशबारे तीन ठूला दलको प्रतिबद्धता माग गरेका थिए । यसअघि बिहीबार साँझ बसेको कार्यदल बैठकमा मोर्चाले संयन्त्र बनाउने प्रस्ताव सिधै अस्वीकार गरेको थियो ।

मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले ‘कतै यो संयन्त्रको प्रस्ताव आन्दोलन तुहाउने षड्यन्त्र त होइन ?’ भनी पटक पटक तीन दलसँग प्रतिबद्धता माग गरेपछि कांग्रेस नेता महेश आचार्यले संविधानको अनुसूचीमै यसबारे व्याख्या गरेर भए पनि मोर्चालाई विश्वस्त गराउन आफूहरु तयार रहेको आश्वासन दिएका थिए । बैठक स्रोतका अनुसार मोर्चा प्रतिनिधिले त्यसपछि जवाफ दिए, ‘यदि तपाईंहरु उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन, कामकारबाही र निर्णयलाई संवैधानिक ग्यारेन्टी गराउन तयार हुनुहुन्छ भने हाम्रो तर्फबाट सोच्न सकिन्छ । मोर्चामा छलफल गरेर आउँछौं ।’

बैठकपछि कान्तिपुरसँग कुरा गर्दै नेता आचार्यले अब विश्वासको ‘लेभल’ बढेको टिप्पणी गरे । ‘हामीले संयन्त्रबाट टुंग्याऔं भन्नेमा जोड दियौं । उहाँहरुले संयन्त्रको टिओआर परिभाषित गर्न माग गरिरहनुभएको छ,’ आचार्यले भने, ‘हामीले उहाँहरुको चाहना बुझेर आश्वस्त गराउने प्रयास गरेका छौं ।’

सिंहदरबार बैठकपछि मोर्चासम्बद्ध एक नेताले संयन्त्र गठनबारे मोर्चाले पहिलोपटक सकारात्मक प्रतिक्रिया दिएको बताए । त्यसको क्षेत्राधिकार र संवैधानिक हैसियत हुनेमा तीन दलले स्पष्ट कुरा ल्याए आफूहरुले शीर्ष तहमा छलफल चलाउने उनको भनाई थियो । ‘चिया पिउने समझदारी लगभग भइसक्यो,’ ती नेताले संकेतमा जवाफ दिए, ‘कालो चिया पिउने कि दूध हालेको चिया पिउने भन्नेमा छलफल जारी छ । भोलि निर्णय हुन सक्छ ।’

कार्यदल बैठकमा तीन दल प्रतिनिधिले सीमांकन सुल्झाउन तीन महिना लाग्न सक्ने भएकाले मोर्चाको स्वीकृति मागेका थिए । तर मोर्चा प्रतिनिधिले आन्दोलन तुहाउने षड्यन्त्र हुन सक्ने भन्दै एक महिनामै सीमित गर्न अडान लिए । यसबारे जिज्ञासा राख्दा कांग्रेस नेता आचार्यले संक्षिप्त प्रतिक्रिया दिए, ‘समयको कुरा महत्वपूर्ण होइन, विश्वासको कुरा महत्वपुर्ण हो ।’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पुस १७ गते तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग अनौपचारिक कुराकानी गर्दै सीमांकन हेरफेरका लागि प्रस्तावित राजनीतिक संयन्त्रको अवधि तीन महिनाबाट घटाउँदै एक महिनामा झार्न प्रस्ताव गरेका थिए । लगत्तै दाहालले काठमाडौंबाहिर रहेका अरु मधेसी दलका नेतासँग टेलिफोनमा यही प्रस्ताव गरे पनि त्यो पहिलेको भन्दै खासै फरक नभएको भन्दै ‘उधारो सहमतिमा बदलिन सक्ने’ टिप्पणी गरेका थिए ।

सत्तारुढ एमालेले दाहालको उक्त प्रस्ताव स्वीकार्ने र त्यसको संवैधानिक वैधता हुनेमा मोर्चा नेताहरुको आशंका थियो । बिहीबारको सिंहदरबार बैठकमा तीन दलले संवैधानिक वैधताको प्रत्याभूतिबारे शीर्ष नेतृत्वसग एक पटक परामर्श गरेर आउने बताएपछि मोर्चा प्रतिनिधिले पनि आफ्नो शीर्ष नेतृत्वसँग बैठकपछि फेरि बस्ने जवाफ दिएका थिए । बिहीबार साझ फेरि बस्ने भनिएको कार्यदल बैठक शुक्रबार दिउसो हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

बैठकमा तीन ठूला दलका तर्फबाट संविधान संशोधनको प्रक्रियामा सहभागी हुन मोर्चालाई आग्रह गरेका थिए । मोर्चा प्रतिनिधिले संविधान संशोधन प्रक्रियामा आफ्नो तर्फबाट सहभागिता नरहे पनि प्रस्तावित संशोधनहरु पहिलेको भन्दा प्रगतिशील रहेको भन्दै खुसी व्यक्त गरे ।

कार्यदल सदस्य समेत रहेका तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले अझै पनि संयन्त्रको संवैधानिक वैधताबारे प्रश्नहरु कायमै रहेको भन्दै तीन ठूला दलले यसबारे प्रष्ट धारणा ल्याउनुपर्ने बताए । ‘आन्दोलन धेरै अगाडि बढिसक्यो, त्यसैले उधारोमा सहमति नहोस् भन्नेमा हाम्रो जोड हुनेछ,’ उनले भने, ‘संवैधानिक ग्यारेन्टी र संयन्त्रको क्षेत्राधिकारबारे प्रष्ट कुरा आउनुपर्‍यो ।’ त्रिपाठीले विवादित पाँच जिल्लाको मात्रै सीमांकन हेरफेर गर्ने हो कि सबै प्रदेशको भन्नेमा संयन्त्र सुरुमै प्रष्ट हुनुपर्नेमा समेत जोड दिए ।

सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले संयन्त्रले आन्दोलनको मूख्य माग सम्बोधन हुनेगरी समाधान खोज्छ भने आफ्नो दललाई मान्य हुने बताए । ‘उहाँहरु -तीन दल) को रवैया हेर्दा मैले त खासै आशा गरेको छैन, तर विश्वसनीय आधार अघि सार्नुहुन्छ भने सोच्नुपर्ने हुन्छ,’ कर्णले भने ।

मोर्चा बैठकमा आन्दोलनको समीक्षा
कार्यदल बैठकलगत्तै बिजुलीबजारमा बसेको मोर्चा बैठकमा राजनीतिक संयन्त्रको औचित्यबारे छलफल भएको थियो । बैठकमा मोर्चाका तर्फबाट कार्यदल प्रतिनिधिले सिंहदरबार बैठकको प्रगति विवरण राखेका थिए । कुनै औपचारिक निर्णय नभए पनि शुक्रबार बिहान ११ बजे फेरि बस्नेगरी बैठक स्थगित भएको छ ।
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष्ा महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादवसहित बसेको बैठकमा सद्भावना सहअध्यक्ष्ा लक्ष्मणलाल कर्णसमेत उपस्थित थिए । यसअघि मोर्चाका दुई बैठकमा सद्भावना उपस्थित थिएन । बैठकपछि तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले आन्दोलनको समीक्षालगायत छलफल चलिरहेको, शुक्रबारमात्रै निर्णय लिइने जानकारी दिए । ‘सबै जिल्लामा चलिरहेका आन्दोलनको समीक्षा भएको छ, थप कार्यक्रम घोषणा गर्नेगरी भोलि बस्दैछौं,’ उनले भने, ‘आमहड्ताल जारी रहनेछ, नाका धर्नालगायत कार्यक्रमबारे भोलि निर्णय लिइनेछ ।’
आन्दोलनका घाइतेहरुको अवस्था बुझ्न गठित समितिका सदस्यसहित शुक्रबार बैठक हुने मोर्चा स्रोतले जानकारी दिएको छ ।

कान्तिपुरबाट


  •  
  •  
  •