बजेटले मधेशलाई उपेक्षा गर्यो : मधेसी दल

295
  •  
  •  
  •  

काठमाडौं, ३ साउन (ओएनएस) मधेश केिन्द्रत दलका नेताहरुले सरकारले ल्याएको नयाँ बजेटले मधेशलाई उपेक्षा गरेको आरोप लगाएका छन् । शनिवार मिडिया इन्टरनेशनले बजेटका विषयमा मधेशी दलहरुको धारणा सार्वजनिक गर्न काठमाडौंमा गरेको कार्यक्रममा मधेशी मधेसी दलका नेताहरुले बजेट मधेशमैत्री नभएको आरोप लगाएका हुन् ।
कार्यक्रममा जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटले तराई मधेश क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । यादवले बजेट पहिले जस्तै परम्परागत ढाँचाबाट आएको बताए । उनले बजेट काठमाडौं केन्द्रीत मात्रै भएको र क्षेत्रीय रुपमा पनि विभेद गरिएको बताए । तराईलाई मात्र होइन, कर्णालीलाई समेत उपेक्षा गरिएको छ । तुलनात्मकरुपमा मधेशको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई उपेक्षित गरेको यादवले आरोप लगाए ।

तराई मधेश सदभावना पार्टीकी उपाध्यक्ष रानी तिवारीले मधेशमैत्री बजेट नआएको आरोप लगाइन् । तिवारीले नयाँ बजेटमा मधेश क्षेत्रलाई जम्मा १० प्रतिशत मात्र बजेट छुट्याएको भन्दै उनले भनिन, ‘यति धेरै हामी मधेशी छौं, त्यसका लागि जम्मा दश प्रतिशत बजेट छुट्याइएको छ । यो विभेद नभएर के हो ?’ उनले राजस्व उठाउँदा मधेशबाट धेरै उठाउने तर खर्च गर्दा सबै पहाडतिर गरेको आरोप समेत लगाइन् । मधेशमा भएका उद्योगहरु बन्द भएको तर यसको संचालन नभएको अवस्थामा नयाँ उद्योग कसरी स्थापना गर्ने कुरा गरेको भन्दै तिवारीले यो सम्भव नभएको ठोकुवा गरिन् ।


  •  
  •  
  •