महतोको उग्रताले पार्टी एकीकरण विथोलियो

256
  •  
  •  
  •  

काठमाडौं, १ भदौ (ओएनएस) : संविधानसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेका मधेस केन्द्रित दलले संविधानसभामा आफ्नो गुमेको हैसियत फर्काउन तीन दलबीच एकीकरणको प्रयास थाले पनि त्यो पुरा नहुने भएको छ ।

तमलोपा, फोरम नेपाल र सद्भावनाबीच हुने भनिएको एकीकरण तत्कालका लागि स्थगित भएको छ । एकीकरण गर्न तीन दलबीच सैद्धान्तिक सहमति भएर एकीकरण प्रयास नै अगाडी बढिसकेको थियो । तर, अन्तिम अवस्थामा आएर तीन दलबीचको एकीकरण रोकिपछि पुन दुई दलबीच एकीकरणको प्रयास भएको छ ।

तीन दलको एकीकरणबाट फोरम नेपाल पछि हटेकाकारण तमलोपा र सद्भावनाबीच एकीकरणको प्रयास भएको छ । तमलोपा अध्यक्ष महन्ठ ठाकुरको अध्यक्षतामा सद्भावना पार्टी एकीकरण गर्न तयार भए पनि त्यसले औपचारिकता पाउन भने सकेको छैन् । ‘यो बीचमा अनौपचारिक रुपमा महन्थ ठाकुर र राजेन्द्र महतोबीच अनौपचारिक रुपमा निकै चरणमा छलफल भएको छ’, नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘तर, यो एकीकरणले पनि औपचारिकता पाउने सम्भावना भने कम छ ।’

स्रोतका अनुसार सद्भावना अध्यक्ष राजेन्द्र महतो जसरी भए पनि पार्टी एकीकरण गर्नुपर्ने पक्षमा छन् । महतोले अध्यक्षमा महन्थ ठाकुर, सहसअध्यक्षमा राजेन्द्र महतो र वरिष्ठ नेतामा हृदयेश त्रिपाठीरहने गरी एकीकरणको प्रस्ताव गरेका छन् । यस विषयमा ठाकुर सकारात्मक रहे पनि खासै उत्साहित नदेखिएको बताइएको छ । तमलोपा अध्यक्ष ठाकुर संविधानसभाबाट जसरी पनि संविधान जारी गर्नुपर्ने पक्षमा रहेका छन भने महतो भने मधेसको हितमा संविधान आएन भने विद्रोहमा जानुपर्ने पक्षमा रहेका छन् । जसका कारण दुई दलबीचको एकीकरण हुन नसकेको हो । ‘अन्य मुद्दाका हिसावले तमलोपा र सद्भावनाबीच समानता छ’, एक नेताले भने, ‘तर महतोको उग्रताप्रति ठाकुरजी सहमत हुनुहुन्न ।’


  •  
  •  
  •