संविधान र सत्ता–राजनीतिले मधेसमा उथलपुथल

305
  •  
  •  
  •  

समाचार टिप्पणी

काठमाडौ, २५ मंसिर (ओएनएस) : संविधान निर्माण र सत्ताराजनीतिका झिल्का बाहिर देखिन थालेसँगै मधेस–राजनीतिमा पनि त्यसका प्रभाव देखिँदै छन् । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपाल मधेसी मोर्चाबाट अलग भएको छ । कांग्रेस–एमालेसँग उसले अलग्गै डिल गर्ने रणनीति लिएको छ । विजयकुमार गच्छदार र महन्थ ठाकुरको छायाँमा पर्ने भएपछि उपेन्द्र यादवले फरक रणनीति लिएको देखिन्छ ।

madhesi-dalka-neta-and-singhdurbarउता ठाकुर र गच्छदारले आलोपालो प्रणाली अपनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूँताएका छन् । मोर्चाको संयोजकको जिम्मेवारी कति समयभित्र हस्तान्तरित हुने भन्नेचाहिँ स्पष्ट छैन । पहिला गच्छदारलाई नेतृत्व दिन भने ठाकुर सहमत भएका छन् । यी दुवै पूर्वकांग्रेसी नेताका बीचमा यति मतो मिल्नु कुनै आश्चर्यको कुरा होइन । त्यसमाथि ठाकुरको भद्र र अन्तर्मुखी स्वभावको लाभ पनि गच्छदारले लिएका छन् ।

उस्तै परे गच्छदारले फेरि मोर्चाका तर्फबाट सरकारमा जाने टोलीको नेतृत्व लिनेछन् र ठाकुरलाई उधारो राष्ट्रपति वा उपराष्ट्रपतिको पासा फाल्नेछन् । तर, कांग्रेस पृष्ठभूमिका गच्छदार र ठाकुरलाई प्रचण्डसँगै रहन कुन रसायनले काम गरेको छ भन्नेचाहिँ स्पष्ट छैन । प्रचण्डको बार्गेनिङ  पावर मात्र बढाइरहनुको अर्थ नरहेको निष्कर्ष भने सबैजसो प्रचण्ड मोर्चाका सदस्यहरूलाई बोध भएको देखिन्छ । कतिसम्म भने एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको सरकारमा सत्ता स्वाद राम्रेसँग चाख्न पाएका नेपाल परिवार दलका एकनाथ ढकालले समेत प्रचण्डको पछि लाग्नुमा ‘भविष्य’ सुरक्षित नरहेको निष्कर्ष निकालेका छन् ।

कम्युनिष्ट पृष्ठभूमिका उपेन्द्र यादवले प्रचण्डसँगको नाता सहजै तोडिदिएका छन् । प्रचण्ड सरकारका परराष्ट्रमन्त्री यादवले लामो समय एमाओवादी धारमै आफूलाई उभ्याएका थिए । संविधान निर्माणमा पनि उनको मत एमाओवादीसँगै बढी मिल्थ्यो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि मधेस मामिलासम्ममा यी दुई राजनीतिक पात्र र शक्तिहरुको निकटताका कारण काठमाडौँको राजनीति प्रशस्तै प्रभावित पनि भएको थियो । अहिले प्रचण्ड र उपेन्द्रको जोडी जम्न नसक्नुका पछाडि संविधान र संघीयताको मुद्दाले कति प्रभावित पारेको छ भन्ने आकलन त्यति सहज छैन । तर, सत्ता राजनीतिले भने प्रशस्तै प्रभाव पारेको देखिन्छ ।

[box type=”shadow” ]गच्छदार र ठाकुरको छायाँमा पर्ने भएपछि उपेन्द्र यादवले लिए फरक रणनीति…

ठाकुर र गच्छदारले आलोपालो प्रणाली अपनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूँताए…

गच्छदारले फेरि मोर्चाका तर्फबाट सरकारमा जाने टोलीको नेतृत्व लिनेछन् र ठाकुरलाई उधारो राष्ट्रपति वा उपराष्ट्रपतिको पासा फाल्ने…

गच्छदारको दुई डुंगामा खुट्टा…

गच्छदार–ठाकुर समीकरणको सत्तारोहण सम्भव भएपछि उपेन्द्रले विरोधको लाइन लिने सम्भावना…[/box]

प्रचण्डले कांग्रेस–एमालेसँग सम्झौता हुन सक्ने संकेत देखाइसकेका छन् । सत्ताराजनीतिमा माहिर गच्छदारले प्रचण्डसँगको निकटता नत्यागीकनै आफ्नो छुट्टै अस्तित्वको खाँबो ठड्याएका छन् । उनी प्रचण्ड–पत्ता काम लागे त्यही देखाउने र महन्थ ठाकुर काम लागे तिनकै काँध चढ्ने रणनीतिमा उन्मुख भएका छन् । दुई डुंगामा खुट्टा राखेर सत्तायात्राको गन्तव्य उनका लागि कति सहज हुन्छ, त्यो बेग्लै पक्ष छ । तर, सत्ताबिना एक छिन पनि बाँच्न नसक्ने र सत्तामा पुग्न जे पनि गर्न तयार हुने नेताका रूपमा परिचित गच्छदारले सकेका सबै उपाय अपनाउनेछन् भन्नेमा कुनै दुविधा छैन ।

त्यो खेलमा आफू जित्नै नसक्ने गरी पछि परिसकेको अनुभव पनि सायद उपेन्द्रलाई भएको हुनुपर्छ । त्यसैले गच्छदार–ठाकुर समीकरणको सत्तारोहण सम्भव भएपछि उपेन्द्रले विरोधको लाइन लिने सम्भावना बढेको छ । त्यसो हुँदा एकपटक पुनः मधेस मुद्दा चर्काउने बाहना बन्नेछ । आफूले बालेको आगोमा जेपी गुप्ता र सीके राउतहरुले घिउ थपिदिने अपेक्षा उपेन्द्रको हुन सक्छ । त्यसमा प्रशान्त झा, तुलानारायण साह र दीपेन्द्र झाहरुले मन्त्रोच्चारणमा सघाउ पुर्याउन सक्ने बुझाइ पनि हुन सक्ला ।

तर, त्यो अनुष्ठानको अग्निहोत्री त्यति प्रज्ज्वलनशील देखिँदैन तत्काल । कारण, उपेन्द्रले प्रचण्ड सरकारमा छँदा उत्तरमुखी मोहोडा देखाएको भन्दै धेरै पछिसम्म उनको ग्रहदशा दक्षिणी नक्षत्रबाट प्रभावित पारिरहेकोमा सबभन्दा बढी जानकार उपेन्द्र आफै छन् । बाबुराम भट्टराईको सरकारमा उनी नअटाउनुको सबभन्दा प्रभावी कारण पनि यही थियो भन्ने कुरा धेरैपटक फोरम, नेपालमै चर्चा भइसकेको छ ।

मधेसराजनीतिको मोहोडा जहिले पनि दक्षिणाभिमुख रहँदै आएको कुरा दालभातभन्दा पनि सामान्य ठानिन्छ, नेपाली समाजमा । गएको संविधानसभा निर्वाचनमा तराईलाई प्रभावित पार्न सक्ने भूमिगत समूहका नाइकेहरू भटाभट भारतबाटै पक्राउ गरेर नेपाललाई बुझाएदेखि मधेस राजनीतिले फरक मोड लिएकै हो । त्यसमाथि मोदी सरकारको आगमनले तत्कालका लागि मधेस–राजनीतिको सडक–अनुष्ठानको सम्भावना थप कमजोर बनाएको छ ।

तत्काल संविधान बनेन र दलहरू संक्रमणको व्यवस्थापनमा असफल हुँदै गए भनेचाहिँ उपेन्द्रलाई पनि उछिनेर सीके राउत प्रवृत्तिहरूले टाउको उठाउनेछन् । जेपीको भूमिका के हुन्छ, भन्न सकिन्न । तर, जेपीको आँगनमा जम्मा भएका अरू ससाना झुण्डहरू उपेन्द्रतिर सर्नेछन् । त्यतिखेर अतिवादीहरूले आफ्नो अनुहारलाई राजनीतिक रूप दिन पनि उपेन्द्रलाई प्रयोग गर्नेछन् । त्यसमा मोदी–प्रशासनको भूमिका के हुन्छ, भन्न सकिन्न । तर, मधेसको तरलतामा चलखेल गर्न मोदी–प्रशासन नै चाहिन्छ भन्ने पनि छैन । तराईको सामरिक महत्वलाई बुझेका अरू तत्वहरूले भित्रभित्रै प्रशस्तै प्रभाव जमाइसकेका छन् ।


  •  
  •  
  •