‘मधेस आन्दोलन र नाकाबन्दी चाँडै अन्त्य हुन्छ’

192
  •  
  •  
  •  

काठमाडौँ, १५ पुस(ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईमा जारी रहेको आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनी–कपिलवस्तु प्रवर्द्धन विश्व अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसको समस्या समाधानका लागि आफहरू लागिपरेको बताउँदै चाँडै समस्याको समाधान हुने विश्वास व्यक्त गरेका हुन् । उनले वार्ता र संवादबाटै समस्याको समाधान गरिने बताएका छन् ।

उनले शान्तिका दूत गौतमबुद्ध नेपालमा जन्मिएको भनेर थालिएको अभियानले विश्वभर रहेका भ्रमलाई चिर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौतमबुद्धबारे अभियान सञ्चालन गर्ने कार्यमा देशभित्र र देश बाहिर केही तहमा अझै हिच्किचाहट बाँकी नै रहेको बताउँदै उनले नेपालीमा रहेको मनोवैज्ञानिक दबाबको अन्त्य हुनुपर्नेमा जोड दिए ।

गौतमबुद्धको जन्मस्थलका विषयमा नेपाल र नेपालीले चालेको अभियान नेपालको पक्षमा भएको बताउँदै उनले भने, ‘हाम्रो आफ्नो लागि काम गर्दा कसैले अप्ठ्यारो मान्नु विडम्बना हो ।’

कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अभियानकै दौरानमा दक्षिण कोरिया र स्विडेनका पाठ्यपुस्तकमा लेखिएका गौतमबुद्धसम्बन्धी पाठ्यक्रम सच्याइएको र अमेरिका एवम् अस्ट्रेलियामा काम सुरु भएको जानकारी दिए । गौतमबुद्ध भारतको उत्तरप्रदेशमा जन्मिएको भनेर लेखिएका पुस्तक विश्वबजारमा रहेकाले यसलाई अभियानकै रुपमा अगाडि बढाइएको उल्लेख गर्दै उनले अभियानबाटै गुगलको नक्सालाई सच्याउन सफल भएको बताए ।

अभियानका अध्यक्ष हरिकुमार श्रेष्ठले विश्व बजारमा रहेका पुस्तक, लेख, चलचित्र र वृत्तचित्रमा रहेका बुद्धसम्बन्धी गलत कुरालाई सच्याउने अभियान निरन्तर चलाएर नयाँ इतिहास बनाउनुपर्ने बताए।


  •  
  •  
  •