माधव नेपाल तेक्वान्दोका आठौं डान

244
  •  
  •  
  •  

काठमाडौं १५ मंसिर ।
नेपाली राजनीतिमा चर्चित एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अब तेक्वान्दो खेलका समेत आठौं डान भएका छन्। नेपाललाई तेक्वान्दोको रिङमा भिडन्त गरेर यो डान प्रदान गरिएको भने होइन। नेपाललाई चानहुन सिएचआइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले शनिबार मानार्थ आठौं डानबाट सम्मान गरेको हो।

काठमाडौंमा आयोजित विशेष समारोहबीच नेपाललाई महासंघका अध्यक्ष फाप लुले मानार्थ आठौं डानको प्रमाणपत्र प्रदान गरे। सिएचआइटिएफ महासंघका अध्यक्ष एवं सिनियर ग्रान्ड मास्टर फाप हाल सिएचआइटिएफको प्रवर्धनका लागि नेपालमा आएका छन्।

यसअघि पनि तेक्वान्दोको मानार्थ तेस्रो र पाँचौं डान उपाधि पाएका नेपालले आठौं डानबाट सम्मानित हुन पाएकोमा आफू निकै खुसी रहेको बताए। नेपाललाई सन् २००० मा आइटिएफ तेक्वान्दोका जन्मदाता चोई नेपाल आएकै बेला तेस्रो डान प्रदान गरेका थिए। त्यसपछि नेपाललाई डब्लुटिएफ तेक्वान्दोले मानार्थ पाँचौं डानबाट सम्मान गरेको थियो।

कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकुदको विकासमा लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले आफू प्रधानमन्त्री भएको बेला खेलकुदको विकासका लागि अधिकतम बजेट छुट्याएको स्मरण समेत गरे। खेलकुद व्यक्तिको मानसिक र शारीरिक विकासका लागि मात्र नभई देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम भएको बताए।

कार्यक्रममा फापले तेक्वान्दोमा नेपालको भविष्य राम्रो भएकाले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन आफूले सक्दो सहयोग गर्ने बताए।

सोही अवसरमा फापले नेपाल सिचआइटिएफका अध्यक्ष रेवतबहादुर रानालाई पाँचौं डानको प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा अस्ट्रेलियाका ग्रान्डमास्टर्स रोबर्ट लाई, मलेसियाका सिनियर ग्रान्डमास्टर्स च्योङ क्विई सेङ लगायतको उपस्थिति थियो।

यसैगरी नेपाल सिएचआइटिएफको आयोजनामा चानहुन तेक्वान्दो च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ। च्याम्पियनसिपमा देशभरका एकसय १७ जना खेलाडीले सहभागिता जनाएका थिए।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •