संविधान जारी भएपछिमात्र राष्ट्रपतिको निर्वाचन : नेपाल

327
  •  
  •  
  •  

madhav-nepal

सप्तरी, १ भदौ : एमालेका अध्यक्ष केपी ओलीले कांग्रेससँग भएको सात बुँदे सहिमतअनुसार राष्ट्रपतिको अनुमोदन हुनुपर्ने बताइरहेका बेला नेता माधवकुमार नेपालले भने संविधान निर्माण भएपछिमात्र राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका छन् । आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतको निर्वाचन हुनुपर्ने बताए । उनले संविधान निर्माणमा दलहरु प्रतिबद्ध भएर लाग्नुपर्ने भन्दै अन्य कुरामा अल्झिन नहुने बताए ।

नेता नेपालले दलहरुको बीचमा संविधानका अन्तरवस्तुहरुको विषयमा गम्भीर रुपमा छलफल जारी रहेकाले माघ ८ गतेभित्रै संघीयतासहितको संविधान आउन दाबी गरे । उनले भने, ‘संविधान निर्माणका आधारहरु तयार भइसकेको छ, दलहरुबीच असमझदारी नभए निर्धारित समयमै संविधान बन्छ ।’ सहमतिकै आधारमा संविधान निर्माणमा सबैको जोड रहे पनि सहमतिमा संविधान बन्ने आधार निर्माण नभए प्रक्रियामा प्रवेश गरेर भए पनि संविधान बन्ने उनले बताए ।
कार्यक्रममा संविधानसभाअन्तर्गतको विवाद समाधान उपसमितिका संयोजक तथा कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले तराईमा सशस्त्र संघर्षरत विभिन्न पाँचवटा सशस्त्र समूहसँग पहिलो चरणको वार्ता सम्पन्न भइसकेको जानकारी दिँदै जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा, ज्वालासिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चालगायतका समुहहरुसँग वार्ताका लागि सम्पर्क भइरहेको खुलासा गरे ।


  •  
  •  
  •