ओलीले एकलौटी सरकार चलाए : नेता नेपाल

152
  •  
  •  
  •  

पाल्पा, २४ माघ(ओएनएस) : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा सरकार चलाएको आरोप लगाएका छन् ।

प्रेस चौतारी, पाल्पा शाखाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी अध्यक्ष ओलीले पार्टीभित्र कुनै पनि छलफल नगरी सरकार एकलौटी हिसाबले चलाइरहेको बताएका छन् । उनले ओलीले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरकार सञ्चालनका लागि कुनै छलफल नगरेको बताए ।

नेता नेपालले पार्टीमा सरकार सञ्चालनको अनुभव भएका व्यक्तिहरू धेरै भएपनि प्रधानमन्त्री ओलीले उनीहरूको सल्लाह नलिएर शुभअवसर समेत गुमाएको बताएका छन् । उनले पार्टीभित्र छलफल गरेर अगाडि बढेको भए ओलीलाई पनि सहज हुने थियो भन्दै चार महिनाको अवधीमा पार्टीबाट ओलीले केही लिन नसकेको उल्लेख गरेका छन् ।

एक अर्को प्रसंगमा नेता नेपालले नयाँ जोगीले धेरै खरानी घस्छ भनेझैँ नयाँ शक्तिले पनि ठूला कुरा गरेको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार हुँदा डा. बाबुराम भट्टराईले केही गर्न नसकेको आरोप लगाउँदै उनले नयाँ शक्तिको नेपालमा कुनै औचित्य नभएको बताएका छन् ।

उनले मधेस आन्दोलनलाई केही जमिन्दारको आन्दोलन भएको संज्ञा दिएका छन् । तराईमा भइरहेको आन्दोलन मधेसी जनताको नभएको दावी गर्दै उनले आन्दोलन विदेशीको इशारा र आशिर्वादका कारण सम्भव भएको धारणा व्यक्त गरेका छन् ।


  •  
  •  
  •