काठमाडौँका हेभिवेट : माधव नेपाल कति सुरक्षित ?

  •  
  •  
  •  

काठमाडौँ, १८ मंसिर (ओएनएस) : पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपाललाई काठमाडौँ—२ बाट कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझाका सूर्यराज आचार्यले टक्कर दिइरहेका छन् ।

नेता नेपालले यसपटक विगतमा भन्दा मतदाताका केही भिन्न प्रश्नहरुको सामना गर्नु परिरहेको छ । आफूले ९ हजार मतको फरकमा जितेर पनि यो क्षेत्र छोड़ेको आरोप उनले केही समय बेहोरे । ०७० को निर्वाचनमा उनी रौतहट र काठमाडौँ दुवैतिरबाट जितेपछि काठमाडौँ छोडेर रौतहटलाई मात्र आफ्नो निर्वाचन क्षेत्रका रुपमा कायम गरेका थिए ।

यति मात्र होइन, काठमाडौँ छोडेपछि पनि उनले उपनिर्वाचनमा स्थानीयलाई भन्दा बहिरकोलाई दिएको भन्दै पार्टीभित्रको आन्तरिक गुनासो पनि सुन्नुप¥यो । मुलुकको प्रधानमन्त्री भएर पनि यो क्षेत्रको लागि खास काम नगरेको भन्ने आरोप त सामान्य भइसक्यो । उनको घर नै भएको कोटेश्वर क्षेत्रका प्रमुख समस्या तीनकुनेको जग्गा अधिग्रहण, एयरपोर्टबाट पूर्वी क्षेत्रका बसिन्दाले पाउनुपर्ने मुआब्जा नपाएको, पूर्वाधार विकास नभएर पीडि़त भएको समस्या र ल्यान्ड पुलिङको समस्याले स्थानीयहरू आक्रोशित हुनु स्वाभाविक छ ।

अन्य क्षेत्रमा भन्दा माओवादी यस क्षेत्रमा कमजोर भएका कारण पनि माधव नेपालका लागि अप्ठेरो छ । स्थानीय तहको निर्वाचन नतिजा हेर्दा यस क्षेत्रमा माओवादीको मत झण्डै राप्रपा जति नै छ । तर, रोचक के छ भने यस क्षेत्रमा विकास निर्माणसम्बन्धी जेजति गुनासा र समस्याहरु छन्, ती कुनै न कुनै रुपमा माधव नेपालकहाँ नै ठोक्किने गरेका छन् । मानौँ, उनी नै अहिलेसम्मै उनी जनप्रतिनिधि हुन् ।

नेता नेपालका लागि सबैभन्दा सुखद पक्ष भनेकै यहाँका स्थानीयले अहिलेसम्म आफ्ना जनप्रतिनिधिका रुपमा नेपाललाई नै स्वीकार गरिरहेका छन् र गुनासो उनैलाई गरिरहेका छन् । जबकि, ०७० मा नेपालले छाडेपछि यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधि कांग्रेसका दीपक कुइँकेल हुन् ।

यसअघिका निर्वाचित सांसद कुइँकेल अहिले पनि कांग्रेसका तर्फबाट उम्मेदवार छन् । उनी यहीँको स्थानीय हुन् । तुलनात्मक रूपमा जनतासँग घुलमिल हुन रुचाउने र कुनै ठूलो विवादमा नपरेको नेतामा कुँइकेल गनिन्छन् ।
विवेकशील साझाबाट डा. सुरेशराज आचार्यको उमेदवारी छ । काँठ क्षेत्रको बढी भोट स्थानीय भएका नाताले कुइँकेलले आकर्षित गर्ने र प्रमुख सहरी क्षेत्र सहरी क्षेत्र (काठमाडौँ महानगरपालिका ३२ र ९) को मत आचार्यले तान्न सक्ने विश्लेषण यहाँका चिया पसलहरुमा सुन्न पाइन्छ ।

काठमाडौँबाट उम्मेदवार बन्नेहरुमा सबैभन्दा ठूलो नेता भएकोले बाम गठबन्धनलाई हराउन लागिपर्ने शक्ति यसै क्षेत्रमा केद्रित हुन सक्ने आकलन एमालेले गरेको छ ।

यस क्षेत्रका सहरदेखि ग्रामीण भेगका मतदातासँग व्यक्तिगत सम्पर्क हुनु नेपालको सबल पक्ष हो । राष्ट्रिय व्यक्तित्व, गएको उपनिर्वाचनबाहेक पहिलादेखि बाम शक्तिले जित्दै आएको क्षेत्र हुनु र यसपटक एउटा क्षेत्रबाट मात्र उठेकाले अब छोड्दैनन् भन्नेमा विश्वास दिलाउन सजिलो हुनुले नेपाल केही सुरक्षित देखिन्छन् ।

यसअगाडि जितेका कुइँकेलले पनि यस क्षेत्रका प्रमुख समस्याहरु हल गर्न नसकेको र नेपालले जित्दा माथिल्लो तहसम्म पहुँच हुने भएकोले विकास र व्यक्तिगत काम गराउन सकिने अपेक्षा स्थानीयमा देखिन्छ । नेपालको सरल, सबैको पहुँचमा हुने शैलीका कारण पनि बिच्किएका मतदाता पनि पुनः उनीतिरै फर्किन समय लाग्दैन । जुन कुरा ०६४ को निर्वाचनमा हराएका मतदाताले ७० मा फराकिलो मत अन्तरले जिताउनुले पनि स्पष्ट हुन्छ ।

यस क्षेत्रका स्थानीय तहमा एमालेको वर्चश्व छ । एयरपोर्ट, तीनकुने र ल्यान्डपुलिङको समस्या हल गर्न स्थानीय सरोकार समूहसहित विशेष पहल थालिसकेकोले स्थानीय जनप्रतिनिधिसहित एमाले नेतृत्वप्रति स्थानीय आशावादी देखिन्छन् ।

काठमाडौँमा सबैभन्दा बढ़ी अर्थात् ७४ हजार ७ सय ५६ मतदाता भएको क्षेत्र हो, काठमाडौँ—२ । काठमाडौँको अति सुगम अन्तर्राष्ट्रिय एयरपोर्टदेखि सबैभन्दा दुर्गम भाग यस क्षेत्रमा पर्छ । दुई नगरपालिका र महानगरपालिकाको २ वडा यसमा समाहित छन् । यस क्षेत्रका मतदाताले कसलाई रोज्छन् भन्ने हेर्न त केही दिन पर्खनै पर्छ ।


  •  
  •  
  •