मधेसी मोर्चाले आजदेखि संसदमा भाग लिने

160
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक ।
अढाई महिनाभन्दा बढी समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चारवटै दलहरू आज आइतबारदेखि व्यवस्थापिका संसद् बैठकमा सहभागी हुने भएका छन् । संसद् बैठक आठ दिनपछि आइतबार बस्दैछ । मधेसमा जारी आमहडताल, सीमामा नाकाबन्दीलगायत जारी आन्दोलनलाई संसद्बाट समेत बल पुर्‍याउने उद्देश्यले मोर्चा संसद् बैठकमा भाग लिने निर्णयमा पुगेको मोर्चामा सहभागी पार्टी सद्भावनाका महासचिव मनीषकुमार सुमनले बताए ।

मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु संसद्मा राख्ने नेताहरूले बताएका छन् । ‘संसद् बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरूबीच सहमति भएको छ,’ सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ।

तराई-मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ । ‘हामी प्रधानमन्त्री चुनावमा भाग लिएर संसद्मा प्रवेश गरिसकेका छौं,’ महासचिव सुमनले कान्तिपुरसित भने, ‘हाम्रा मागका लागि संविधान संशोधन गराउन पनि संसद्मा जानैपर्ने हुँदा आइतबारदेखि नै संसद् सहभागी हुने निर्णय लिएका हौं ।’ उनले संसद्मा समेत संघर्ष जारी राखिने बताए ।

असोज ३ मा संविधान जारी भएयता असोज १५ बाट बोलाइएको संसद् बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गरिसकेको छ । पछिल्लो पटक कात्तिक १४ मा उपराष्ट्रपतिको निर्वाचनपछि आइतबार बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको चुनावका बेला संसद् बैठकमा सहभागी भएका मोर्चाका सांसदहरू राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको चुनावका बेलामा भने संसद्मा अनुपस्थित थिए ।

सरकारसँग वार्ता गर्न गठित मोर्चाको वार्ता टोलीका सदस्यसमेत रहेका तमसपाका वरिष्ठ नेता रामनरेश रायले पनि सडकसँगै संसद्मा पनि संघर्ष गर्ने मोर्चाले नीति लिएको बताए । रायले आन्दोलनको कार्यक्रम भने नफेरिएको जनाए ।
स्रोतका अनुसार मधेसवादी दलका सभासदहरू संसद्मा आफ्ना कुरा राख्ने र संसद् अवरुद्ध गर्ने तयारीमा छन् । मोर्चाको औपचारिक बैठक नबसेपछि नेताहरूबीच संसद्मा सहभागी हुने सहमति भएको हो । संविधानसभा परित्याग गरेर संसद्मा आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि यसमा सहमत रहेको मोर्चा स्रोतले जनाएको छ ।

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई-मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तराई-मधेस सद्भावना पार्टीका ३५ सभासद छन् । नयाँ संविधान जारी हुनु अगाडिदेखि नै प्रदेशको सीमांकनलगायत विषयमा असन्तुष्टि जनाउँदै मोर्चा आन्दोलरत छ । तराईका जिल्लामा पहाडसँग नजोडिएका दुई प्रदेश हुनुपर्ने, जनसंख्याका हिसाबले निर्वाचन क्षेत्र तोकिनुपर्ने, प्रत्येक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वलगायत माग मोर्चाले राख्दै आएको छ । साउन ३१ बाट सुरु मोर्चाको आन्दोलन शनिबार ८४ दिन पुगेको छ । कान्तिपुरबाट


  •  
  •  
  •