किन बस्दैन मधेसी मोर्चा बैठक

176
  •  
  •  
  •  

काठमाडौं ९ बैशाख ।
मधेसी मोर्चा संयोजक रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतोको निर्देशनमा महासचिव मनिषकुमार सुमनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक डाके, फागुन २८ मा । मोर्चा संयोजन समितिमा बसेका आठै दलका अध्यक्षसहित २४ नेताले एसएमएसमा जवाफ फर्काए- ‘थ्यांक्स । हामी आउँछौं ।’

भोलिपल्ट दिउँसो बैठक बस्नेवाला थियो । बिहान अध्यक्ष महतोले सुमनलाई भने, ‘मिटिङ रोक्नुपर्‍यो । त्यस्तै पर्‍यो ।’ सुमनले अल्मलिँदै बैठक रोकिएको सन्देश पठाए । मोर्चाभित्रका अधिकांश नेता स्थगनको कारण नबुझेर छक्क परे । एक सातापछि अनौपचारिक जमघटमा खुल्यो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बैठक रोकिदिन आग्रह गरेका रहेछन् ।

माघ १८ यता मधेसी मोर्चाको बैठक बसेको छैन । प्रायः सबै मधेसी दलका नेताहरु भन्छन्, फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव र गच्छदारबीच बढदो टकराव यसको पहिलो कारण हो । दोस्रो कारण, मोर्चासँग छलफल नगरी मनलागी ‘सहमति’ प्रस्ताव गर्ने गच्छदारको शैली हो । तेस्रो कारण, आठै दलका अध्यक्षले सहमति दिएमात्रै बैठक बस्ने मोर्चा निर्माण हुँदाको शर्तबन्दी हो ।

‘मोर्चामा छलफल नगरी माघ ५ गते संघीयता थाँती राख्ने, मधेसमा तीन प्रदेशमा जान सकिनेलगायतका प्रस्ताव सत्ता-विपक्षी बैठकमा किन राखेको भनी अरु दलले खेर्न सक्ने गच्छदारजीले बुझ्नुभएको छ,’ सद्भावनाका एक नेता भन्छन्, ‘त्यसैले उहाँ बैठकदेखि भागेको भाग्यै हुनुहुन्छ ।’

फोरम लोकतान्त्रिक स्रोतका अनुसार भने फोरमका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समयमा आफूविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेकाले गच्छदार कडा प्रतिवाद गर्ने मुडमा छन् । त्यसैले मोर्चा फुट्ने जोखिम देखेर संयोजक महतोले बैठक राख्न सकेका छैनन् ।

मधेसी मोर्चाभित्र निर्मित दुई ध्रुवमध्ये यादव ‘तेस्रो मधेस विद्रोह’ को पक्षमा छन् । दोस्रो संविधानसभामा गुमेको साख सडकबाट फर्काउनुपर्ने उनको जोडकोणलाई महतो नेतृत्वको सद्भावना, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको सद्भावनालगायतको प्रोत्साहन छ । सकभर सम्झौताबाटै संविधान जारी गर्ने, दोस्रो ध्रुवका नेता गच्छदार सत्ता राजनीतिको महत्वपूर्ण हिस्सा लिएर अघि बढ्ने रणनीतिमा छन् । उनलाई शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीको समर्थन छ ।

‘आन्दोलन पनि सहमतिकै लागि हो, अरु एजेन्डा छैन,’ भण्डारी यादवलाई लक्षित गर्दै भन्छन्, ‘केही साथीमा भने आन्दोलन नै सबैथोकको समाधान हो भन्ने प्रवृत्ति देखिएको छ ।’

उता तमलोपाभित्र दुई धार छ्, जसको तानातानमा अध्यक्ष महन्थ ठाकुर जेलिएका छन् । उपाध्यक्ष हृदयेश त्रिपाठी पक्ष आन्दोलनको पक्षमा छ । महामन्त्री सर्वेन्द्रनाथ शुक्ला पक्ष सम्झौताको पक्षमा छ । कारण बुझ्न कठिन छैन । त्रिपाठी संविधानसभामा पराजित छन् । कदाचित् सरकारमा पार्टी जानुपरे उनी प्राथमिकतामा पर्दैनन् । उता शुक्लाले चुनाव जितेका छन् । तमलोपा स्रोतका अनुसार पार्टी सरकारमा गए मन्त्रिपरिषद्मा आफ्नो सम्भावना बढी हुने उनको हिसाबकिताब छ ।

‘तर आन्दोलन र सम्झौतामध्ये एक रोज्नुपरेमा महन्थजीले अन्तिम समयमा उपेन्द्रजीलाई नै सघाउने पक्कापक्की छ,’ तमलोपा स्रोत भन्छ ।

र यी सबैको पृष्ठभूमिमा फोरम नेपाल र फोरम लोकतान्त्रिकबीच प्रतिष्ठाको लडाइँ मुख्य छ । कतिसम्म भने, दुई अध्यक्ष यादव र गच्छदार एउटै बैठकमा नबसेको धेरै भइसक्यो । ३० दलको बैठकमा जब गच्छदार बोल्न थाल्छन्, यादव जुरुक्क उठेर हिँडिहाल्छन् । चैत १५ गते सिंहदरबारमा बसेको विपक्षी गठबन्धन बैठकमा यस्तै भयो । गच्छदारले नेताहरुलाई सम्बोधन गरिसकेर एक वाक्य बोल्न नपाउँदै यादव झोला टिपेर हिँड्न खोजे । गच्छदारले सम्झाए, ‘उपेन्द्रजी एकैछिन बसिदिनूस् न । तपाईं त जहिले पनि मैले बोल्नै नपाई हिँडिदिनुहुन्छ ।’

यादव प्रत्युत्तर नफर्काई सरासर हिँडे । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव भन्छन्, ‘उपेन्द्रजी आफ्ना कुरा राख्नुहुन्छ । तर दोहोरो संवादमा ओर्लने बानी छैन ।’

उपेन्द्र यादव गच्छदारलाई ‘कांग्रेसले आफ्नो एजेन्डा पूरा गर्न पठाएका नेता’ भन्ने आरोप लगाउँछन् । फोरम लोकतान्त्रिक र रामसपा भने यादव सहमतिको वातावरण भाँडन उद्यत रहेको आरोप लगाउँछन् ।

‘उपेन्द्रजी बैठकमा आउनुहुन्न । बाहिर गएर अलग अलग कुरा गर्नुहुन्छ’ रामसपाका अध्यक्ष भण्डारी भन्छन्- ‘२९ दल एउटा प्रस्ताव ल्याउँछन् । उहाँ अर्कै प्रस्ताव ल्याउनुहुन्छ ।’

फोरम गणतान्त्रिकका अध्यक्ष यादव भन्छन्, ‘अहिले यिनै कारणले मोर्चा बैठक बसेको छैन । किनकि, बैठक बस्यो कि, मोर्चा फुट्ने पक्का छ ।’

रामसपा अध्यक्ष भण्डारी पनि एजेन्डाबिना मोर्चाको बैठक बस्नुको अर्थ नभएको जिकिर गर्छन् । ‘सरकार सहमतिबाटै अघि बढ्छु भनिरहेको छ, एकलौटी आन्दोलनको कार्यक्रम अघि बढाएर समाधान आउँदैन भन्ने मोर्चाले बुझ्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले बैठकका लागि बैठक किन गरिबस्ने ?’
कान्तिपुरबाट


  •  
  •  
  •