मधेसी मोर्चाबाट टाढिँदै यादव

127
  •  
  •  
  •  

 काठमाडौं २३ मंसिर । एक सातादेखि ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा’मा रहेका घटकका शीर्ष नेताहरू व्यस्तजस्तै देखिन्छन्। त्यसमा पनि संविधानसभामा मधेसको ठूलो दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार बढी सक्रिय देखिन थालेका छन्। गच्छदारले सत्तारूढ दलका शीर्ष नेताहरूसँग घन्टौं गोप्य बैठक गरेको देखिन्छ भने औपचारिक/अनौपचारिक छलफलमा पनि व्यस्त हुन थालेका छन्।

मोर्चामै रहेको तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) अध्यक्ष महन्थ ठाकुरसहित उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी अध्यक्ष शरतसिंह भण्डारीलगायत पनि दिनैपिच्छेजस्तो आन्तरिक, दुई र बहुपक्षीय भेटघाट र छलफलमा व्यस्त देखिन्छन्।

तर, मोर्चामै रहेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय यादवले भने ती बैठक र छलफललाई खासै प्राथमिकता दिएको देखिन्न।

गत मंसिर ८ मा ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा’ घोषणा गर्दा फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदार, तमलोपा अध्यक्ष ठाकुर र उपाध्यक्ष त्रिपाठी, सद्भावना अध्यक्ष महतो, रामसपा अध्यक्ष भण्डारी उपस्थित भए पनि फोरम अध्यक्ष उपेन्द्र यादव र तमसपा अध्यक्ष महेन्द्र राय यादव उपस्थित थिएनन्। त्यतिबेला फोरमबाट उपाध्यक्ष लालबाबु राउत र महासचिव रामसहाय यादब तथा तमसपाबाट उपाध्यक्ष रानी शर्मा तिवारी सहभागी थिए।

त्यसपछिका मोर्चा र अन्य पार्टीसँगका बैठकमा पनि उपेन्द्र र महेन्द्र सहभागी भएनन्। एमालेसँग मंसिर १५ मा सिंहदरबारस्थित संसदीय दल कार्यालयमा भएको बैठकमा उपेन्द्र सहभागी भए पनि महेन्द्र थिएनन्। उक्त बैठकमा एमालेले संविधान जारी गर्ने प्रयोजनका लागि बनाइने सहमतीय सरकारमा सहभागी हुन मोर्चालाई आग्रह गरेको थियो। मोर्चाका नेताहरूले त्यतिबेला ‘आफूहरूलाई हरियो घाँस नदेखाउन’ प्रत्युत्तर दिएका थिए। उपेन्द्रले भने त्यतीबेलै ‘हरियो घाँसमा को-को फस्ने हुन् थाहा छैन’ भन्ने प्रतिक्रिया दिएका थिए।

एमालेसँगको छलफललगत्तै उपेन्द्रले पार्टीका तर्फबाट भन्दै संविधानका विवादित विषय र मधेसका मुद्दाबारे अलग्गै धारणा संवाद समिति सभापति बाबुराम भट्टराईमार्फत संविधानसभालाई बुझाए। मोर्चालाई ‘बाइपास’ गर्दै उपेन्द्रले अलग्गै धारणा बुझाएको भन्दै अरू घटकका नेता उनीसँग आक्रोशित मात्रै भएनन्, ‘मोर्चा भाँड्ने हर्कत’ भएको टिप्पणीसमेत गरे।

विरोधको स्वर सुनेपछि यादब गत शुक्रबार -१९ मंसिरमा) एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा डाकेको लन्चसहितको बैठकमा सहभागी भएनन्। जबकि चार दिनअघि एमाले संसदीय दलको वैठकमा यादवकै प्रस्तावमा १९ गतेको बैठक निधो गरिएको थियो।

शुक्रबारको बैठकमा संघीयतालाई थाती राखेर संविधान जारी गर्ने एमाले अध्यक्ष ओलीको प्रस्तावलाई मोर्चाले अस्वीकार गरेको थियो। तर, भोलिपल्टै गच्छदारले बालकोटमै ओलीसँग गोप्य वार्ता गरेका थिए। आइतबार पहिलोपटक बसेको मधेसी मोर्चाको बैठकले चक्रीय प्रणाली -आलोपालो) अनुसार पहिलो दलका हैसियतले गच्छदारलाई नै संयोजक तोकेको छ, त्यसपछि उनी अझ सक्रिय भएको देखिन्छ। मोर्चाको पहिलो बैठकमै काठमाडौंमा रहेका उपेन्द्र सहभागी भएनन्, प्रमुख सचेतक शिवजीप्रसाद यादवलाई पठाइदिए। मोर्चा ब्युँताउनेबारे छलफल गर्न बसेको कात्तिक २८ गतेको बैठकमा चाहिँ उपेन्द्र सहभागी थिए।

मोर्चाको नाममा भएको पछिल्लो गतिविधिप्रति उपेन्द्र ‘सशंकित’ देखिन्छन्। ‘मोर्चालाई सरकारमा जाने खुडकिलो बनाउन सक्ने र सत्ताको लोभमा संघीयता र मधेसका मुद्दा भुल्नसक्ने’ भन्दै उपेन्द्रले आशंका जनाउन थालेका हुन्। उनले मोर्चा र मोर्चाका नेताहरूप्रति खुलेरै विरोध नगरेपनि मोर्चामा रहिरहन नचाहेको झल्को मिल्छ। ‘छलफल र बैठक देश र जनताको हितमा भए त राम्रै हो,’ वीरगन्जमा रहेका उपेन्द्र यादवले सोमबार कान्तिपुरसित भने, ‘अहिले नै मोर्चाबारे टिप्पणी गर्दिन, हेरौं केही दिन।’ कान्तिपुरबाट


  •  
  •  
  •