मधेशीको दवाबले अप्ठ्यारोमा एमाओवादी

92
  •  
  •  
  •  

कठमाडौं ८ मंसिर ।
मधेशी दलले कांग्रेस, एमालेको प्रस्तावलाई संवाद समितिको प्रतिवेदनको अनुसूचीमा राखेर मात्र अघि बढाउन दवाब दिएपछि एमाओवादी अप्ठ्यारोमा परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस, एमालेको प्रस्तावलाई मतदान नहुने सर्तमा भाषा मिलाएर संवाद समितिमार्फत् अघि बढाउन सकरात्मक भएका थिए ।

उनले मधेशी, जनजाति दलसंग सहमति गरी अघि बढाउने बताए पनि आइतबार २२ दलीय मोर्चाको बैठकमा दाहाललाई दबाव दिएका थिए । मेधशी नेताले कांग्रेस, एमालेले भाषा मिलाएर अघि बढाएको प्रस्तावमा मतदान गराउने भन्दै एक्लै सममति नगर्न दबाव दिएको एक नेताले बताए । दाहालले २२ दलको सहमतिबिना आफूले कुनै सहमति नगर्ने बताएका थिए ।

दाहालले कांग्रेस, एमालेको प्रस्ताव अघि बढाउने सहमति नभएको दाबी गर्दै कांग्रेस, एमालेले प्रचार गरेको बैठकपछि बताए । बैठकमा मधेशी दलले कांग्रेस, एमालेको बिश्वास नभएको भन्दै उनीहरुको प्रस्ताव अनुसूचीमा राखेर पठाउनु पर्ने अडान लिएका थिए । त्यसपछि एमाओवादी नेता सभापति रहेको संवाद समितिको बैठक स्थगित भएको थियो । भट्टराईले शनिबार कांग्रेस, एमालेको प्रस्ताव भाषा मिलाएर प्रतिवेदन बनाउने सहमति भएको बताएका थिए । कांग्रेस, एमालेको प्रस्ताव भाषा मिलाएर संविधानसभामा पठाउन भट्टराई तयार थिए । त्यअनुसार उनले सभामुख सुभाष नेम्वाङ, एमाले नेतासंग परामर्श सुरु गरिसकेका थिए ।

दाहालले संविधानसभामा भएका मोर्चाको बैठकमा प्रस्ताव अघि बढाउने सहमति नभएको बताएका थिए ।

‘प्रचण्डजीले प्रस्ताव अघि बढाउने सहमतिनै नभएको बताउनुभयो’ मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले बताए । सद्भावना अध्यक्ष राजेन्द्र महतोले कांग्रेस, एमालेको बिश्वास नभएको आरोप लगाउदै ती दलको प्रस्ताव अनुसूचीबाट अघि बढाउने अडानमा लचकता अपनाउन नसकिने बताए ।

मोर्चाको बैठकले कांग्रेस, एमालेको प्रस्ताव भाषा मिलाएर पठाउने कुरामा सहमति नगर्ने निर्णय गरेको थियो ।

नेताहरुले सरकार, मधेशी जनजाति लगायतका शक्तिसँग भएका सहमति र सम्झौताहरुलाई आधार बनाएर संविधान निर्माणको विवादित विषयको टूंगो लगाउनुपर्ने धारणा व्यक्त गरेका थिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तासिन दललाई घेराबन्दी नगरेसम्म संघीयतासहितको संविधान नआउने बताए ।

कार्यक्रमका सहभागीहरुले २२ दलीय मोर्चाको नेतृत्व गरिरहेका अध्यक्ष दाहाललाई तीन दलको बैठकमात्र गरेर सहमति खोज्ने प्रयास छोड्न सुझाव दिएका थिए । मधेशी अगुवाहरुले मधेशीका मुद्धामा अध्यक्ष दाहालले ठाउँपिच्छे फरक फरक धारणा अघि सारेको आरोप लगाएका थिए ।

यसैबीच २२ दलले सोमबार कुटनीतिक नियोगका प्रतिनिधिहरुसंग भेटगरी आफ्नो कुरा राख्ने तय गरेका छन् । कान्तिपुरबाट


  •  
  •  
  •  

Comments are closed.