काठमाडौं २६ भदौ (ओएनएस) :
सयुक्त मधेसी मोर्चाले आफ्ना माग पुरा नभएसम्म वार्तामा नबस्ने बताएको छ । प्रमुख तीन दलको संविधानसभा निर्माण प्रक्रिया दुई दिनका लागि स्थगन गर्ने निर्णय अपुरो रहेको मोर्चाको टिप्पणी छ । मोर्चाले सरकारले मधेसमा गरेको दमन तत्काल बन्द गर्नु पर्ने, सेना परिचालन फिर्ता लिनु पर्ने र घाइतेको उपचारको व्यवस्था नगरेसम्म वार्तामा नबस्ने बताएको छ ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अपुरो आह्वानले वार्तामा नबस्ने बताउनुभयो । आज मोर्चाले थप छलफल गरेरको धारणा बनाउने बताए । अध्यक्ष यादवले मधेसका अन्य माग सम्बोधन नगरिएको प्रति आपत्ति रहेको बताए ।
तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र राय यादवले मधेसी तथा थारूले विद्रोह गर्न थालेपछि प्रमुख दलका नेताहरू डराएको बताए । उनले संविधान निर्माण प्रक्रिया स्थगन सकारात्मक भए पनि मधेसमा सेना तथा प्रहरीले गरेको दमनले वातावरण बिगारेको उनको भनाइ छ । उनले सरकारले चकलेट देखाएर फेरि झुक्याउन खोजेको पनि बताए ।
मोर्चाले जारी संविधान प्रक्रियाको स्थगन, विगतमा भएका आठबुँदे र २२ बुँदे सहमति पालना, जारी कफ्र्यु र दंगाग्रस्त क्षेत्र हटाई सेना फिर्ता गर्नुपर्ने, आन्दोलनमा घाइतेको उपचार र मृत्यु भएकालाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति तथा पक्राउ परेकालाई तत्कालै रिहा गर्नुपर्ने सर्त अघि सारेको छ । यीमध्ये संविधानसभाको प्रक्रिया स्थगित भएको छ ।