काठमाडौं १० असोज । मधेसी दलहरुको नेपाल भारत नाका गरेको धर्ना र नाकावन्दीमा रक्सौलका भारतीय नागरिकले सहयोग गरेका छन्। धर्नामा बसेका आन्दोलनकारीको खानाका लागि भारतीयले रक्सौलमै बिहिबार बेलुकीदेखि मेस सञ्चालन गरेका छन् ।
आन्दोलनकारीहरुको टेण्ट , बस्ने र सुत्ने सबै प्रबन्ध भारतीयहरुले नै मिलाइ दिएका छन् । रक्सौलका बासिन्दाले चन्दा उठाएर नेपालका आन्दोलनकारीका लागि खानाको मेस चलाएका हुन् ।
नाकाबन्दी गरेका आन्दोलनकारी र प्रहरीबीच बिहीबार साँझ झडप भएपछि वीरगञ्ज फर्किन लागेका मधेसी दलका कार्यकर्तालाई प्रहरीले शंकराचार्यद्धारमा कुटपिट गर्न थालेपछि रक्सौलका भारतीयले मेस चलाउन सुरु गरेका हुन् ।
भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध रहेकाले आफूकँहा आएका पाहुनालाई सेवा गरेको रक्सौलका व्यपारी सुमीत सर्राफले बताए ।
‘मधेस आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ’, उनले भने, ‘नाकाबन्दी र धर्ना जारी रहेसम्म आन्दोलनकारीका लागि मेस चलाइराख्छौं ।’
दगशजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारिरहेका मधेसी दलका नेता कार्यकर्तालाई भारतीय सुरक्षाकर्मीहरुले पनि सहयोग गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय मान्याताविपरित दशगजा क्षेत्रमा धर्नामा बस्दा पनि मधेसी दलका कार्यकर्तालाई त्यहाँबाट हटाउन भारततर्फबाट कुनै पहल नभएको छ ।
अन्नपूर्णपोष्टबाट