आन्दोलन नियन्त्रण बाहिर, मधेस अशान्त

100
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर ।
प्रहरी हस्तक्षेपका कारण शनिबार र आइतबार चारजना प्रदर्शनकारीको मृत्यु भएपछि सोमबार पनि सप्तरी अशान्त भएको छ । आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले सदरमुकाम राजविराज र पूर्व–पश्चिम राजमार्गमा पर्ने मुख्य बजार रूपनी, बरमझिया, भारदहलगायतका क्षेत्रमा प्रदर्शन गरे । पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीले सवारीसाधन ठप्प पारेका छन् ।

सोमबार दिनभर राजविराजस्थित मिनीमार्केट, जनआन्दोलन चौक, जिल्ला प्रहरी कार्यालयअगाडि पटक–पटक मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भयो । पटकपटकको झडपमा प्रहरीले ६ राउन्ड अश्रुग्यास र केही राउन्ड हवाईफायरसमेत गरेको थियो । मोर्चा कार्यकर्ताले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । झडपको क्रममा सोमबार राजविराजमा तीन बालकसहित एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको स्थिति गम्भीर छ । उनीहरूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यस्तै आधा दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको मोर्चा सप्तरीका नेता एवं रामसपाका अध्यक्ष गजेन्द्र मण्डलले बताए । मधेसी मोर्चाका कार्यकर्ताले सोमबार चारवटा सरकारी कार्यालयमा आगजनी गरे । बिहान कोइलाडी बरसाइनस्थित प्रहरी चौकी र तिलाठीस्थित राजविराज भन्सार कार्यालय, दिउँसो राजविराजस्थित जिल्ला भूसंरक्षण कार्यालय र अबेर साँझ नापी शाखा कार्यालयमा आगजनी गरेका छन् । प्रहरी चौकीबाहेक तीन कार्यालयमा गरिएको आगजनीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । प्रहरीले आइतबार साँझ समाचार संकलनमा रहेका चार पत्रकारलाई कुटपिट गरेको नेपाल पत्रकार महासंघ सप्तरीले जनाएको छ ।

सोमबार पत्रिका छाप्ने नेहा अफसेट प्रेसमा पनि तोडफोड गरेको छ । तोडफोडको पत्रकार महासंघ सप्तरी, प्रेस युनियन सप्तरीसहितका संघसंस्थाले भत्र्सना गरेका छन् । यता राजमार्ग अवरोधपछि भारदहदेखि रूपनीसम्म पनि दिनभर झडप र भागदौड भयो । आन्दोलनकारीले राजमार्ग अवरोध गरेपछि हजारौँ सवारीसाधन बीचबाटोमा नै अलपत्र छन् । प्रहरी स्कर्टिङमा रहेका सवारीसाधनमाथि सप्तरीको कञ्चनपुर–बरमझिया खण्डमा आक्रमण भएको थियो । त्यहाँ दर्जनौँ सवारीसाधन तोडफोड भएका छन् । भारदहमा दुईवटा मोटरसाइकलमा आगजनी भयो । यसैबीच सवारीसाधन तोडफोड भएपछि यात्रु ओर्लिएर सप्तरी भारदहका आधा दर्जन सर्वसाधारणको घरमा तोडफोड गरे । बसका यात्रुले सर्वसाधारणको घर तोडफोड गरिरहँदा प्रहरी मूकदर्शक बनेको भारदह गाविसका निवर्तमान अध्यक्ष पवनकुमार मण्डलले गुनासो गरे । उनको घरमा पनि तोडफोड भएको छ ।

सवारीसाधनमाथि ढुंगामुढा गरेको भन्दै भारदह– २ का ६० वर्षीय सत्यनारायण मण्डललाई घरमै पसेर प्रहरीले कुटपिट गरेको छ । यता चिकित्सक र स्वास्थ्यकर्मीलाई आइतबार प्रहरीले अस्पतालमा पसेर लाठीचार्ज गरेको विरोधमा सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सबै सेवा ठप्प रह्यो । आइतबार पनि स्वास्थ्यकर्मीले सेवा बन्द गरेका थिए । स्वास्थ्यकर्मीसम्बद्ध विभिन्न संगठनहरूले सोमबार पत्रकार सम्मेलन गरी जिल्लाका सुरक्षा निकाय प्रमुखमाथि कारबाही हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने र पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरे । माग पूरा नभएसम्म जिल्लाका सबै स्वास्थ्य संस्था ठप्प रहने उनीहरूको भनाइ छ ।

जिल्ला सुरक्षा समिति सप्तरीले आइतबार बिहान ६ बजेदेखि राजविराजको सरकारी कार्यालय क्षेत्रमा लगाएको अनिश्चितकालीन कफ्र्यु यथावतै छ । सोमबार बिहान ६ बजेदेखि जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा समेत कफ्र्यु आदेश जारी भएको छ । उता सप्तरीको रूपनी र भारदहस्थित पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ पाँच सय मिटरको क्षेत्रमा आइतबारदेखि लगाइएको कफ्र्यु पनि जारी छ । लगातारको कफ्र्युले सप्तरीबासीको जनजीवन प्रभावित बनेको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •