यसरी बन्यो कोहिनुर :आकाश अधिकारी, निर्देशक

61
  •  
  •  
  •  

काठमाडौं ६ भदौ ।
श्रीजी केही वर्ष पहिला नै मलाई निर्देशक लिएर फिल्म बनाउने इच्छा राख्नुभएको थियो । त्यतिवेला मैले को आफ्नो को बिरानो फिल्म निर्देशन गरिरहेको थिएँ । त्यो फिल्ममा श्रीजी हिरो हुन्थ्यो । उहाँ मेरो कामदेखि प्रभावित भएको थियो । सुटिङ गर्दै जाने क्रममा उहाँले भन्नुभयो– आकाश सर, म कुनै दिन फिल्म बनाउँछु, र त्यसको निर्देशन तपाईंले गर्नुपर्छ है ।

त्यसको केही वर्षपछि उहाँले फिल्म निर्माणमा हात हाल्नुभयो । उहाँ लगातार शिव रेग्मीजीसँग काम गरिरहनुभएको थियो । उहाँहरूको ट्युनिङ निकै राम्रो थियो । त्यसैले उहाँले पहिलो फिल्म शिवजीलाई लिएर निर्माण गर्नुभयो– कहाँ भेटिएला । त्यो फिल्म सुपरहिट भयो । वेलावेलामा उहाँ र मेरो भेट भइरहन्थ्यो ।

करिब साढे दुई वर्षअगाडिको कुरा हो, मलाई श्रीजीले फोन गर्नुभयो । र, भन्नुभयो– डाइरेक्टर साब, तपाईंसँग भेट्ने काम छ । समय मिलाउनुस् न । मैले उहाँलाई रेड स्टुडियोमा बोलाए । उहाँ आउनुभयो । अनि एकछिन तपाईंसँग सेपरेटमा बस्नुपर्‍यो भन्नुभयो । उहाँ र म मेरो अफिस रुममा चुकुल लगाएर बस्यौँ । अनि श्रीजीले भन्नुभयो– सर, म नयाँ फिल्म बनाउने योजनामा छु । त्यसको निर्देशन तपाईंले गरिदिनुपर्‍यो । मैले हुन्छ भने । उहाँले एउटा लभस्टोरी प्लट सुनाउनुभयो । मलाई मनपर्‍यो । मैले मसँग भएको एउटा कथा सुनाएँ । उहाँले आफूले सुनाएकोभन्दा मैले सुनाएको कथा निकै मन पराउनुभयो र त्यसमै फिल्म बनाउँ भन्नुभयो । त्यो कथाको नाम के राख्ने भन्नेमा धेरै समय सोचमा परियो । मैले ६ सात वटा नाम लेखेको थिएँ, त्योमध्ये कोहिनुर ‘सेलेक्ट’ भयो ।

कथा त रेडी थियो । तर, पटकथा र संवाद लेख्नमा भने हामीलाई फेसबुकमा भेटिएका दुईजना भाइ यम थापा र विशाल सुब्बाले साथ दिए । उनीहरूसँग धेरैपटक, धेरै दिन सँगै बसियो । विशाल भाइ दार्जिलिङका हुन् । उनी बीचमै उता फर्किएकाले म, श्रीजी र यम भाइ लागेर कोहिनुरको स्क्रिप्ट फाइनल गरेका हौँ ।

स्क्रिप्टपछि हामी गीत तयार गर्न लाग्यौँ । किरण खरेल, सुन्दर श्रेष्ठ र डा. कृष्णहरि बरालले एक–एकवटा गीत लेख्नुभयो । एउटा हिन्दी गीत कसलाई लेखाउने भन्ने भयो । श्रीजीले इन्डियातिर कसैलाई कन्ट्याक गर्नुपर्ला भन्नुभयो । मैले हिन्दी शब्दहरू मिसाएर एउटा गीत लेखेको थिएँ । अर्काे दिन इन्द्रेणीमा श्रीजीले त्यो गीत पढ्नुभयो । पढिसकेपछि उहाँ जुरुक्क उठेर मेरोसामु आउनुभयो र भन्नुभयो– कसले लेखेको हो यो गीत ? मैले लेखेको हुँ भने । उहाँ निकै खुसी हुनुभयो । त्यो गीतले फिल्मको मर्म बोकेकाले त्यही गीत राख्ने निर्णय गर्नुभयो ।

गीत रेकर्डिङका लागि श्रीजी, म र संगीतकार शम्भुजित बास्कोटा १८ दिन मुम्बई बस्यौँ । गीत पनि निकै राम्रो बने । त्यतिवेला हामीले मुम्बईमा सुटिङ गर्न चाँजोपाँजो पनि मिलायौँ । काठमाडौं फर्किएपछि बाँकी कलाकार, प्राविधिकको छनोट गरेर सुटिङ सुरु गर्‍यौ ।

०००
कोहिनुरको करिब ४० प्रतिशत सुटिङ मुम्बईमा गर्‍यौँ । सुटिङमा कुनै पनि दिन समस्या आएन । श्रीजीले कहिल्यै पनि कुनै कुरामा पनि कम्प्रमाइज गर्नुभएन । फिल्म राम्रो बनाउन जे जति खर्च लाग्छ, जे गर्नुपर्छ, उहाँ तयार हुनुभयो । मुम्बईमा सुटिङ गर्न निकै गाह्रो थियो । त्यसका लागि मेरो सम्बन्ध र श्रीजीका साथीहरूको सहयोगले गर्दा समस्या भएन । हामीलाई जस्तो लोकेसन, प्रोपर्टी चाहिन्छ, त्यो सबै उपलब्ध हुन्थ्यो ।

हामी मुम्बईमा जम्मा २४ दिन बस्यौँ । सुटिङ भने १४ दिन गरियो । दसैं नजिक आइरहेको थियो, सबैलाई काठमाडौं फर्कन हतारो थियो । त्यतिवेला मैले चार–पाँच सिन जम्प गरेर खिचाएँ । श्रीजीले डाइरेक्टर साब, तपाईं जसरी गर्नुहुन्छ गर्नुस्, म त तपाईंले जस्तो भन्नुहुन्छ त्यस्तै गर्ने कोसिस गर्छु । मलाई अरू केही थाह छैन है भन्नुहुन्थ्यो । हामीले मुम्बई, काठमाडौं र मुठे गरेर जम्मा ३९ दिन फिल्म खिच्यौँ । सुटिङभर कसैलाई पनि कुनै कुराको अभाव हुन दिनुभएन ।

त्यहाँ श्रीजीका दाइ शंकरका कारणले पनि हामीलाई निकै सहज भयो । फिल्मको इन्डक्ल्याप भने हामीले मुठेमा गर्‍यौँ । होल सुटिङ ‘प्याकअप’ गर्दा सबै प्राविधिक, कलाकारको आँखामा आँसु थियो । कारण–अब हामी छुट्टिदै छौँ भनेर । त्यत्तिसम्म सौहार्दपूर्ण वातावरणमा सुटिङ सकाएका थियौँ । सुटिङपछि एडिटिङ सुरु भयो । श्रीजी, श्वेता बहिनी सँगै हुनुुहुन्थ्यो । रमाइलो हुन्थ्यो । श्रीजी एडिटिङमा खानेकुराहरू बोकेर पुग्नुहुन्थ्यो ।

०००
फिल्मको पोस्ट प्रोडक्सन भइरहँदा श्रीजी र म बसेर रिलिज डेट तय गर्‍यौँ । पहिला हामी वैशाखमै फिल्म लगाउने भन्नेमा थियौँ । तर, पछि साउन २३ मा रिलिज गर्ने फाइनल गर्‍यौँ । फिल्म रिलिजको मिति घोषणासँगै श्रीजी र श्वेता बहिनीको बिहेको कुरा चल्यो । बिहेको मिति पनि तय भयो । बिहे पनि भयो । बिहेपछि उहाँहरू भारत लाग्नुभयो । तर, उहाँ बिरामी पर्नुभएछ । फिल्ममा अरू कलाकारको डबिङ सकिएको थियो । तर, श्रीजीलाई अलि खोकी लागेकाले पछि डबिङ गरुँला नि भनेर कुरेका थियौँ ।

तर, उहाँको घाँटीमा समस्या आएकाले तत्काल डबिङ गर्न नसक्ने हुनुभएछ । उहाँले दिल्लीबाट फोन गरेर मलाई भन्नुभयो कि– सर, मलाई अलि सन्चो भएन, खोकीले पनि सतायो । म आउन्जेल ढिला होला, तपाईंले नै मेरो डबिङ गर्दिनुस् । म अलि निको भएपछि आइहाल्छु । त्यसपछि मैले श्रीजीको डबिङ गरेँ ।

फिल्म रिलिजको मिति निकै नजिक आइसक्यो । तर, उहाँहरू आउनुहुन्न । झन् बिरामी परेको खबर आयो । म एकदम तनावमा भएँ । प्रेसमिटमा पनि उहाँ आउन सक्नुभएन । उहाँजस्तो राम्रो मान्छे साथमा नहुँदा मैले उहाँलाई मिस गरेँ । आँखाबाट आँसु नै आयो ।

पछि, उहाँको अडियो सन्देश प्राप्त भयो । शुक्रबार कोहिनुर रिलिज भयो । श्रीजी आउन नपाए पनि हामीले कुमारी हलमा प्रेस सो गर्‍यौँ । श्रीजीको परिवार, पत्रकार साथीभाइ र चलचित्रकर्मीहरूले सँगै फिल्म हेर्‍यौँ । सबैले फिल्म मन पराएर तारिफ गरे । मलाई साह्रै खुसी लाग्यो । सबैले फिल्म मन पराएको कुरा मैले श्रीजीलाई शुक्रबार साँझ फोनमा जानकारी गराएँ । उहाँ निकै खुसी हुनुभयो । शनिबार जतासुकैबाट फिल्मले राम्रो व्यापार गरेको खबर आयो । म दिनभर व्यस्तै भएँ । श्रीजीसँग कुरा हुन पाएन । आइतबार बिहान साढे ५ बजे अकल्पनीय खबर आयो ।

०००
आज फिल्म रिलिज भएको १४औँ दिन र श्रीजीले हामीलाई छाडेर गएको १३औँ दिन हो । उहाँजस्तो कलाकार, निर्माता नेपाली फिल्म उद्योगले गुमाउनु अपुरणीय क्षति हो । आज फिल्मले व्यवसायको सबै रेकर्ड तोडेको छ । यसमा म खुसी त छु, तर श्रीजीले यो खुसी हेर्न पाउनुभएन । यसमा मलाई निकै दु:ख लाग्छ । श्रीजीको निधनपछि हलमा दर्शकको भीड लाग्यो । दर्शकले श्रीजीलाई श्रद्धाञ्जली स्वरूप कोहिनुर हेरेका छन् । फिल्म राम्रो भएकाले परिवारको एकजनाले बाँकी सबैलाई कोहिनुर हेर्न सिफारिस गरेकाले यत्तिको सफलता प्राप्त भइरहेको छ । अहिले हलमा दर्शकको चाप हेर्दा यो फिल्मले देशका धेरै हलमा सफलताको ५१ दिन, सय दिन मनाउने कन्फर्म देखिएको छ ।

म कोहिनुरको निर्देशक मात्र हुँ । मैले जसरी राम्रो फिल्म बनाएँ, फिल्म चलुन्जेलसम्म पनि मेरो साथ उत्तिकै रहनेछ । फिल्मले पैसा कमाएर निर्मातालाई बचाइदिनु निर्देशकको धर्म हो । श्रीजी भन्ने गर्नुहुन्थ्यो– सर हाम्रो फिल्म सुपरहिट हुन्छ । आखिर उहाँले भनेको कुरा पूरा भयो । कोहिनुर साँच्चै नै कोहिनुर भयो । श्रीजी कोहिनुरलाई आफूले खेलेको र बनाएको जीवनकै सबैभन्दा राम्रो फिल्म भन्ने गर्नुहुन्थ्यो । आखिर अहिले यो कुरा प्रमाणित भएको छ ।

नयाँपत्रिकाबाट/लक्ष्मण सुवेदी


  •  
  •  
  •