गोरखा १ यसरी बन्छ नमूना निर्वाचन क्षेत्र

490
  •  
  •  
  •  

काठमाडौं, बैशाख १ : नेपाल पुरानो सामन्ती युगको अन्त्य भएर पूँजीवादी युगमा प्रवेश गरेको छ । हाम्रो समाज पूँजीवादी युगमा प्रवेश गरेको कुरा सत्य हो, तर त्यसको चरित्र राष्ट्रिय, उत्पादनमुलक र औद्योगिक पूँजीवादी भन्दा बढी पराधीन, कमिशनमुखी र अनुत्पादक प्रकृतिको छ ।

पूँजीवादी क्रान्ति मूलतः सम्पन्न भईसकेपछि हामीले एउटा मौलिक बाटो रोज्न आवश्यक छ । अबको चुनौती भनेको राष्ट्रिय उत्पादनशील पूँजीवादी विकास गर्ने, रक्षा गर्ने, संस्थागत गर्ने र यसको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विकास गर्दै समाजवादी रुपान्तरणको आधार तयार पार्नु हो ।

२००७ सालदेखि २०६३ सालसम्मको आन्दोलन मूलतः सामन्तवादको विरुद्धमा थियो । यसैले पनि त्यसबेलाका आन्दोलन बढी विद्रोहात्मक र हिंसात्मक थिए । अब सामन्तवाद विरुद्धको लडाई मूलतः पूरा भई नयाँ युग निमार्णको चरणमा मुलुक प्रवेश गरेको छ ।

नेपाली राजनीतिको एक यथार्थ के रह्यो भने यो आजसम्म राजनीतिक आन्दोलनमा बढी केन्द्रित रह्यो । अब संविधान निर्माण सँगसँगै दलहरुको ध्यान आर्थिक क्रान्ति र निर्माणको योजनामा जुट्न जरुरी छ ।

देशव्यापी आर्थिक–सामाजिक क्रान्तिको अभियान चलाउनु अघि निश्चित क्षेत्रमा मोडेल विकासका काम सम्पन्न गर्नु उपयोगी हुन्छ । देशको झण्डै मध्य भागमा रहेको ऐतिहासिक गोरखा जिल्ला त्यस निम्ति बढी उपयुक्त हुनसक्छ ।

माथि उल्लेखित राजनीतिक, ऐतिहासिक र सामाजिक परिप्रेक्ष्यलाई ध्यानमा राखी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ लाई नेपालकै नमूना निर्वाचन क्षेत्रको रुपमा विकास गर्न देहायबमोजिमका नीति, रणनीति र कार्यक्रम घोषणा गरेको छु । यो नीति तथा कार्यक्रम नेपाल सरकार, विभिन्न राजनीतिक दल, दातृ निकाय तथा गैर–सरकारी संस्था, उद्यमी–व्यवसायी र नागरिक समाजको सक्रिय सहयोग र संलग्नतामा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु ।

१. दूर दृष्टि : गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ लाई सामाजिक न्याय सहितको समृद्ध, आत्मनिर्भर र दीगो आर्थिक केन्द्रको रुपमा विकास गर्दै लैजाने ।

२. ध्येय : आर्थिक–सामाजिक रुपले पछाडि परेका समुदायको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन उत्पादनशील रोजगारीमूलक कार्यक्रमलार्ई बढावा दिने ।

३. लक्ष्य : निर्वाचन क्षेत्र नं. १ को मानव विकास सूचकाङ्कलाई आगामी ३ वर्षभित्र राष्ट्रिय औसतको स्तरमा ल्याउने ।

४. उद्देश्य : 

  • गरिबी, बेरोजगारी र सामाजिक बञ्चितीकरणलाई विद्यमान अवस्थाको आधारमा प्रतिवर्ष उल्लेख्य रुपमा घटाउ“दै लैजाने ।
  • कृषि तथा गैर–कृषि क्षेत्रको लगानीमा वृद्धि गर्ने ।
  • निर्वाचन क्षेत्र भित्रका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी रोजगारीका अवसर सिर्जना गर्ने ।
  • पिछडिएका जाति, जनजाति, महिला, दलित, उत्पीडित वर्गको आर्थिक, सामाजिक उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।
  • व्यवसायिक शिक्षाको सर्वसुलभताको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।
  • स्थानीय स्तरमा प्रयोगको लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने ।
  • कृषिमा आधारित उद्योग सञ्चालन गर्न सरकारी, निजी तथा सहकारीको माध्यमबाट विशेष अभियान सञ्चालन गर्ने ।
  • ग्रामीण पूर्वाधार निर्माणको लागि सरकारी, निजी, साझेदारीलाई परिचालन गर्ने ।
  • गरीब, सीमान्तकृत, महिला र पिछडिएको वर्गको लागि सरकारी स्तरबाट प्रदान गरिएका सेवा र सुविधामा पहू“च बढाउन अभियान सञ्चालन गर्ने ।
  • कृषिको उत्पादन वृद्धि गर्न र जमीनको अधिकतम उपयोग गर्न भूमि बैंकको कार्यक्रम सञ्चालन गर्ने ।
  • गोरखाको विशिष्ट ऐतिहासिक, साँस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सम्पदाको रुपमा विकास गर्ने ।
  • राष्ट्रिय गौरवको योजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजनाले यस क्षेत्रमा दीर्घकालीन रुपमा सिर्जना गर्ने विकासका प्रचुर अवसरहरुको अधिकतम सदुपयोगका लागि प्रारम्भिक तयारी गर्ने ।

५. रणनीति : 

  • सरकारी, निजी तथा सहकारीको माध्यमद्वारा स्रोत परिचालन गर्ने ।
  • स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम परिचालन गरी स्थानीय अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित गर्ने ।
  • विपन्न, महिला तथा अन्य लक्षित वर्गको जीवनस्तर उकास्न रोजगारी तथा स्वरोजगारीमा पहुूँच अभिवृद्धि गर्ने ।
  • निर्वाचन क्षेत्रमा आफ्ना सदस्यहरुलाई बचत संकलन तथा लघु कर्जामा पहुूँच अभिवृद्धि गर्ने ।
  • लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने ।
  • महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग तथा श्रमिकको जीवनस्तरमा सुधार ल्याउन उत्पादन तथा बजार सहकारी व्यवसायमा पहुँच बढाउने ।
  • युवामैत्री आधुनिक प्रविधिको प्रयोग गरी कृषि व्यवसायमा युवा पुस्तालाई संलग्न गराउने ।

६. कार्यनीति : 

६.१ तत्काल 

  • खाद्यसुरक्षाको उच्च जोखिममा परेका चेपाङ समुदाय लगायतका परिवारलाई राहत उपलब्ध गराउने ।
  • जोखिमपूर्ण ढंगले नदी तरेर विद्यालय जानुपर्ने चेपाङ विद्यार्थीको लागि आवासीय शिक्षा योजना सञ्चालन गर्ने ।
  • त्रिशुलीको हिक्लुङ्गघाटमा एक झोलुङ्गे पूल निर्माण गर्ने ।
  • नेपाल सरकारबाट विभिन्न निकायमार्फत प्रदान गरिने कार्यक्रममा विभिन्न आन्दोलनका शहीद तथा वेपत्ताका परिवार र घाइते, विपन्न वर्ग, वेरोजगार युवा, महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्ग, पिछडिएका जनजातिको पहुूँच बढाउन एक सहजकर्ता टोली गठन गर्ने ।
  • निर्वाचन क्षेत्र विकास कार्यक्रम र सांसद विकास कोष मार्फत सञ्चालित विभिन्न विकास निर्माण कार्यक्रमहरुको प्रभावकारी अनुगमन गर्ने ।
  • चेपाङ समुदायका विशिष्ठ समस्या समाधान गर्न एक ‘चेपाङ समुदाय विकास ट्रस्ट’ गठन गर्ने र त्यसमार्फत विविध कार्यक्रम सञ्चालन गर्ने ।
  • विभिन्न व्यवसायिक तथा सीपमुलक तालिम सञ्चालन गर्ने ।
  • विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
  • सरोकारवाला समूह मार्फत विभिन्न सामाजिक सुधार तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने ।
  • नियमित रुपमा ‘स्वयंसेवा अभियान’ मार्फत  गाउँ -टोल सरसफाइ, वृक्षारोपण, ‘एक गाउँ, एक पोखरी’ आदि कार्यक्रम सञ्चालन गर्ने ।
  • विपन्न वर्ग, महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्ग र चेपाङ समुदायलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने ।
  • आकस्मिक प्राकृतिक प्रकोप, दुर्घटना आदिबाट पीडित विपन्न परिवारलाई तत्काल राहत प्रदान गर्न एक कोष निर्माण गर्ने ।
  • दलित समुदायको परम्परागत पेशालाई संरक्षण र आधुनिकीकरण गर्न विशेष कार्यक्रम संचालन गर्ने ।

६.२. मध्यकालीन-दीर्घकालीन

  • क्षेत्रीय विकास योजना विभिन्न सरकारी निकायहरुसँगको संयोजनमा र विज्ञहरुको सहयोगमा ३ महिनाभित्र गोरखा क्षेत्र नं. १ को भौगोलिक तथा आर्थिक-सामाजिक क्षेत्रगत योजना र त्यसको कार्यान्वयनको आवधिक योजना (कार्यक्रम र साधनस्रोतसहित) निर्माण गर्ने, जसमा निम्न कुराहरु समावेश गर्नेः

– समावेशी, दीगो, आत्मनिर्भर र सहभागितामूलक विकास नीति अनुसरण गर्ने ।
– तीब्र आर्थिक वृद्धिका साथै रोजगारी अभिवृद्धि र सामाजिक न्यायको समुचित सन्तुलन कायम गर्ने नीति लिने ।
– योजना निर्माणको चरणदेखि स्रोत परिचालन, कार्यान्वयन र अनुगमनसम्म स्थानीय जनसमुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने ।
– पूर्वाधार विकास (बाटो/बिजुली/खानेपानी), कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन (ऐतिहासिक/साँस्कृतिक/धार्मिक/पर्या–पर्यटन), व्यवसायिक शिक्षा, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा, कृषि तथा पशुजन्य/बनजन्य/सेवाजन्य उद्योग, वित्तीय सेवा, वातावरण संरक्षण, युवा स्वरोजगार, सामाजिक सुरक्षा आदि विकास नीतिका मुख्य प्राथमिकता कायम गर्ने ।
– गोरखा दरबारक्षेत्र, मनकामना क्षेत्र, बुढिगण्डकी परियोजना क्षेत्र र दरौंदी फाँट तथा टार क्षेत्रलाई मूल विकास केन्द्र मानी निजी, सहकारी, गैर–सरकारी र गैर–आवासीय नेपालीको लगानी आकर्षित गर्ने र समग्र क्षेत्रको सन्तुलित विकासमा ध्यान दिने ।
– त्रिशुली नदी किनारका अति पिछडिएका चेपाङ जातिको बाहुल्य रहेका विकट इलाकाको विकासका निम्ति विशेष नीति तथा कार्यक्रम बनाउने ।
– आम रुपमा ‘शहरको ग्रामीणीकरण’ गर्ने कुप्रथाको सट्टा ‘गाउँको शहरीकरण’ (अर्थात् गाउँले स्वच्छ वातावरण र शहरी सुविधाको संयोजन) गर्ने दीगो विकास नीति अपनाउने । गोरखा नगरपालिकाको विस्तृत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने ।

नमूना गाउँ :
निर्वाचन क्षेत्रको झण्डै मध्यभागमा रहेको एक गाउँ, घैरुङलाई नमूना गाउँको रुपमा विकास गर्ने ताकि अरुले त्यसको अनुसरण गर्न सकुन्, जसमा निम्न कुराहरु ३ देखि ५ वर्षभित्र प्राप्त गर्ने प्रयत्न गर्ने :

– शतप्रतिशत साक्षरता, सबै बालबालिका स्कुलमा भर्ना, सबै घरमा धाराको शुद्ध खानेपानी र बिजुलीबत्ती, सबै बालबालिकालाई पूर्ण खोप र लगभग शून्य बालमृत्युदर, सबै वडामा मोटरबाटो, सबै घरमा टेलिफोन र इन्टरनेट सुविधा, सबैलाई निःशुल्क प्राथमिक स्वास्थ्य सेवा, प्रत्येक वडामा खेलकुद मैदान, इत्यादि ।
– सबै घर आगलागीमुक्त, सबै घरमा धुवाँमुक्त चुल्हो, सबै घर–गोठमा पूर्ण सरसफाइ, अधिकांश घरमा वैकल्पिक उर्जा (सौर्य उर्जा, गोबर–ग्यास आदि) को प्रयोग ।
– सबै गरीबीको रेखाभन्दा माथि, कृषि-पशुपालन/फलफुल खेतिको आधुनिकीकरण र व्यवसायीकरण, वर्षभर सिञ्चाई सुविधा, सुलभ कृषि बजार, सबै सहकारीमा आवद्ध, कृषिजन्य उद्योगको प्रचुरता, पर्याप्त वित्तीय सेवा, सबै युवा रोजगार-स्वरोजगार, सबैको स्वास्थ्य/जीवन/गैर–जीवन बीमा, सबै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गलाई सामाजिक सुरक्षा ।
– पूर्ण रुपले महिला हिंसामुक्त, छुवाछुतमुक्त, जातीय भेदभावमुक्त, जुवातासमुक्त, लागूऔषध लगायत दूव्र्यसनमुक्त, अन्धविश्वास/कूप्रथा मुक्त, उन्नत/वैज्ञानिक सँस्कृतियुक्त नागरिक । सहकारी र स्वयंसेवी भावनाले युक्त व्यक्तिहरुबाट आफैं शान्ति सुव्यवस्था कायम गर्ने, स्थानीय र घरायसी झै–झगडा मेलमिलाप/क्षमादानद्वारा हल गर्ने, स्थानीय स्वशासन कायम गर्ने उन्नत लोकतान्त्रिक संस्कार युक्त समुदाय ।
– हरित वातावरण संरक्षण, प्राकृतिक साधनस्रोतको समुचित परिचालन र दीगो तथा आत्मनिर्भर विकास नीतिको अनुसरण व्यवहारतः गर्ने ।
– नमूना गाउँ विकास नीति निर्माण गर्न र कार्यान्वयन गर्न एक स्वयंसेवक समूह निर्माण गर्ने । शुरुमा एउटा छानिएको वडाबाट नमूना विकास कार्यक्रमको थालनी गर्ने र क्रमशः विस्तारित गर्ने ।
– अन्य गाविस र न.पा. वडाहरुमा क्रमशः विस्तारित गर्दै लैजाने ।

अन्य
– जिल्ला र जिल्ला बाहिरका उद्यमी–व्यवसायी र गैर–आवाशीय नेपालीहरुको एक भेला आयोजना गरेर निर्वाचन क्षेत्र भित्र लगानी गर्न उत्प्रेरित गर्ने र आवश्यक सहजीकरण गर्ने ।
– शहीद तथा वेपत्ताहरुका परिवार र आन्दोलनका घाइतेहरुको शेयर रहने गरी एक उत्पादनमूलक योजना निर्माण गरेर कार्यान्वयन गर्ने ।

७. संगठन संरचना :
माथि विभिन्न प्रकरणमा उल्लेखित कार्यक्रम सञ्चालनको लागि देहायबमोजिमका संरचना निर्माण गर्नेः

७.१. सरोकारवाला समूहः

क) निर्वाचन क्षेत्र स्तरमा प्रत्येक गाविस र नगरपालिकाका वडाका प्रतिनिधि, पेशागत समूह, महिला, दलित, जनजाति सम्मिलित एक सरोकारवाला समूह गठन गरिनेछ । यो समूहले प्रत्येक गाविस र नगरपालिकाको विकास निर्माणको आवश्यकता निर्धारण गर्ने, समस्या पहिचान गर्ने र सोको जानकारी विज्ञ समूहलाई दिनेछ ।
ख) प्रत्येक गाविसका प्रतिनिधि र नगरपालिकाका वडामा एक नागरिक अनुगमन समिति हुनेछ, जसले लागू गरिएका योजना र कार्यक्रमको अनुगमन गर्नेछ ।

७.२. विज्ञ समूहः जिल्लाभित्र र बाहिरका देहाय बमोजिमका क्षेत्रगत विज्ञ रहेको समूह गठन गरिनेछ, जसको मुख्य कार्य सरोकारवाला समूहले प्रस्तुत गरेको विषयमा प्राविधिक र व्यवस्थापकीय सहयोग गर्नु हुनेछः
१. जनकराज जोशी (प्रशासन/व्यवस्थापन)
२. डा. लक्ष्मी देवकोटा (जलश्रोत)
३. ज्ञानेन्द्र कुमाल (जनजाति/समाजसेवा)
४. लेखनाथ शर्मा (शिक्षा)
५. दुर्गा न्यौपाने (ग्रामिण विकास)
६. सिताराम अर्याल (पशुविज्ञान)
७. ठाकुर देवकोटा (कृषि/वातावरण)
८. चित्रकुमार श्रेष्ठ (सहकारी)
९. गोवर्धन श्रेष्ठ (समाजसेवा)
१०. गोपाल श्रेष्ठ (पर्यटन)
११. नरहरि ढकाल (लघुवित्त)
१२. वासु रेग्मी (सहकारी)
१३. सागर पाण्डे (पर्यटन)
१४. डा. उत्तमबाबु श्रेष्ठ (वातावरण)
१५. डा. सुनिलबाबु श्रेष्ठ (शहरी विकास)

७.२. सल्लाहकार एवं संरक्षक समूहः जिल्लाभित्र र बाहिरका प्रतिष्ठित व्यक्तित्व रहेको एक सल्लाहकार एवं संरक्षक समूह गठन गरिनेछ, जसमा आवश्यकता अनुसार व्यक्तिहरु रहनेछन् र हाल देहाय बमोजिमका व्यक्तित्व रहनेछन्ः

१. रामकुमार श्रेष्ठ
२. अमर तमू
३. विजय मल्ल
४. चुडामणि शर्मा कट्टेल
५. बाबुराम अर्याल
६. मोहनलाल श्रेष्ठ

७.३. कार्यालय

  • सभासद्को सम्पर्क कार्यालय जिल्ला सदरमुकाममा रहनेछ र त्यहा“ आम जनसमुदाय र सरोकारवालाहरुस“ग नियमित सम्पर्कको व्यवस्था मिलाइनेछ ।
  • सभासद्द्वारा प्रत्येक महिना निर्वाचन क्षेत्रको भ्रमण गर्ने परिपाटीलाई कायम राखिनेछ ।
Bhattarai in Ghairang
गोरखाको घैरुङमा डा. भट्टराई। तस्विरः भट्टराईको फेसबुकबाट।

(नयाँ वर्ष २०७२ को उपलक्ष्यमा गोरखा जिल्ला क्षेत्र नं. १ लाई नमूना निर्वाचन क्षेत्रको रुपमा विकास गर्ने सम्बन्धमा सभासद् डा. बाबुराम भट्टराईद्वारा घोषित नीति तथा कार्यक्रम)


  •  
  •  
  •