पार्टीलाई थप एकताबद्ध बनाउनु नै पुष्पलालप्रति सच्चा सम्मान: माधव नेपाल

349
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएको बताएका छन् ।

४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेता नेपालले श्रद्धाञ्जली व्यक्त गर्दै नेकपालाई सोही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई  दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता नेपालले अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेको बताए ।

उनले आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कतव्र्य हुने बताएका छन् ।

पुष्पलालले स्थापना गरेका पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सकेको पनि नेता नेपालले बताएका छन् ।

उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु हाम्रा लागि सधैँ मार्गदर्शनका रुपमा छन् । कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरुले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौँ, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत गरेका छौँ ।’

संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा हामीले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको पनि उनले बताएका छन् ।

 


  •  
  •  
  •