दशैँमा जेष्ठ नागरिक र दिर्घ रोगी सतर्क रहौँ : मदनदास श्रेष्ठ

74
  •  
  •  
  •  

आम जेष्ठ नागरिकहरुलाई म अनुरोध गर्छु, संसारभर फैलिएको कोभिड– १९ ले दिर्घ रोग भएका जेष्ठ नागरिकहरु चाँडै संक्रमित हुन सक्छन् त्यसैले खानेकुराहरु समय समयमा खाउँ, जथाभावी नहिडौँ । मेरो बेलामा यस्तो थियो उस्तो थियो, मलाई केही हुँदैन भन्ने नसोचौँ, आफ्नो नाति नातिनाको पनि ख्याल गरौँ ।

कलाकार मदनदास श्रेष्ठ

पहिले हामी सुरक्षित भयौँ भने घर परिवार पनि सुरक्षित हुन्छ त्यसैले भीडभाडमा नजानुहोस् र अरु व्यक्तिको सम्पर्कबाट टाढा रहनुहोस् ।

खोक्दा, हाछिउँ गर्दा नाक र मुख टिस्यू पेपरले छोप्नुपर्छ र त्यसलाई फोहोर हाल्ने भाँडोमा फ्याँकेर साबुन पानीले हात मिचीमिची धुनुपर्छ । म आफैँ पनि ७३ वर्षको छु । मलाई पनि मधुमेह, रक्तचापको रोग छ त्यसैले नियमित रुपमा समयमै औषधी खाने, छिनछिनमा तातोपानी सेवन गर्ने गर्यो भने रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ र रोगबाट बच्न धेरै मद्दत पुग्छ भन्ने मैले अनुभव गरेको छु ।

घरका अन्य सदस्यहरु बाहिर गई घरभित्र आउने गर्दा घरमा भएका जेष्ठ नागरिकहरुलाई संक्रमणको जोखिम उच्च हुन्छ किनकी धेरैको घरमा जेष्ठ नागरिकको लागि अलगै प्रबन्ध गरिएको हुँदैन । कुनै जेष्ठ नागरिकलाई संक्रमण भएको पुष्टि हुन आएमा सबैभन्दा पहिला परिवारले उनीहरुको मनौवैज्ञानिक अनुसार व्यवहार गर्नुपर्छ । संक्रमण भएको बेला आत्मबल र मनोबल गिर्न सक्छ त्यसबाट बचाउन जेष्ठ नागरिकको स्वास्थ्य सुधार गर्ने तिर गम्भीर भई हेरचाहमा चनाखो भएर हेरचाह गर्नुपर्ने हुन्छ ।

कोरोनाले गर्दा मानसिक रुपमा हामी सबै तनावमा छौँ तर यसलाई भयंकर रुपमा नलिउँ । तर कोरोना केही पनि होइन भन्ने नसोचौँ केही हुन्न भनेर जथाभावी हिँडडुल नगरौँ । मध्यपान तथा धुम्रपान गर्छौँ भने पुरै छोडौँ । स्वच्छ, स्वस्थ र पारिवारिक आनन्दमा बसी आफू बाँचौ र अरुलाई पनि खुशी राखौँ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा वरिष्ठ कलाकार श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •