काठमाडौं, २५ माघ (ओएनएस) : तीन पासपोर्ट भएको तथा स्वतन्त्र तीब्बत आन्दोलनमा लागेको आरोप लागेका ल्यारक्याल लामा संविधानसभा सदस्यमा नियुक्त भएका छन् ।
निर्वाचन आयोगले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै लामालाई एमाओवादीको सिफारिसमा सभासदमा नियुक्त गरिएको जनाएको हो ।
यसअघि एमाओवादीले सिफारिस गरेको शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य पदमा वाहाल रहेको अवस्थामा सभासद चयन भएपछि उनको पद रद्द भएको थियो ।
तीन वर्षअघि एमाले कोटामा अर्थ राज्यमन्त्री बनेका लामामाथि विभिन्न आरोप लागेर विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका थिए ।
लामामाथि नेपालसहित विभिन्न तीन देशको नागरिकता लिएको तथा स्वतन्त्र तिब्बत आन्दोलनमा सहभागी भएको आरोप लागेको थियो । उक्त आरोपको बचाउ नगरेपछि एमालेसँग रुष्ट बनेका लामा संविधानसभा निर्वाचन ताका एमाओवादीमा प्रवेश गरेका थिए ।
त्यसयता लामा एमाओवादी अध्यक्ष प्रचण्डसँग नजिक छन् । लामाले प्रचण्डलाई आर्थिक रुपमा सहयोग गर्ने गरेको बताइन्छ ।