लुटपाटकाे आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

132
  •  
  •  
  •  

काठमाडौं, १४ जेठ (अाेएनएस) : करिब एक किलो सुन र लाखाै रुपैयाँ लुटेको आरोपमा सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा असई विशाल खड्का छन् ।

खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् उनलाई काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न भएको आरोपमा आइतबार पक्राउ गरेको हो ।

पूर्व योजना अनुरुप व्यवसायीलाई रेकी गरेर उनीहरुले लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘७ जनाको समूहमा भएका मध्ये एक जनासँग ती व्यवसायी परिचित थिए’, घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘उनकै सूचनाको आधारमा व्यवसायी लुटिएका थिए ।’

पक्राउ परेकाहरुमाथि जबरजस्ती चोरी, डाँका र संगठित अपराध ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए । उलने भने,’ घटनामा संलग्न ४ जना अझै फरार छन्, उनीहरुकाे खाेजी भइरहेकाे छ।’


  •  
  •  
  •